नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो ।

शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार मैजुवहालस्थित उनकै निवासबाट बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।

यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।

यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।