सेयर लगानीकर्ताको मनोबल खस्कियो, ७ महिना यताकै न्युन कारोबार


सेयर बजार ओरालो लाग्ने क्रममा लगानीकर्ताको मनोबल कमजोर हुने क्रम तिब्र भएको छ । बजार आरालो लाग्दा पनि अर्ब हाराहारीको सेयर किनबेच हुँदै आएकोमा बुधबार भने कारोबार रकमले पनि बजारलाई टेवा दिन सकेन ।

अर्थतन्त्र संकुचित भइरहेका बेला आम उपभोक्ताको क्रयशक्तिमा समेत ह्रास आईरहेको छ । यस्तो अवस्थामा सेयर बजारका लगानीकर्ताको मनोबाल कमजोर हुँदा बुधबार जम्मा ५८ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो कारोबार रकम ७ महिनायताकै न्युन हो । २०७९ असोज दोस्रो साता ४१ करोड रुपैयाँमा झरेको कारोबार रकम केही दिनको अन्तरालमा १ अर्ब कायम भएको थियो । असोज १२ गते बजार परिसुचक नेप्से १९१८३७.४६ विन्दुमा रहँदा ४१ करोड ८६ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस पछिका दिनहरुमा ५७ देखि ६७ करोडसम्मको सेयर किनबेच भएको थियो ।

बुधबार बजार परिसुचक नेप्से २.४३ अंकले घटेर १८४१.९३ अंकमा अडिँदा ५८ करोड ९१ लाख रुपैयाको सेयर कारेबार भएको हो । सात महिना अघि असोज महिनामा दशैंको बेला यो आकारमा सेयर किनबेच भएको थियो ।

बजार सुस्त हुँदै गर्दा २६५ कम्पनीका १९ लाख ४२ हजार ६२६ कित्ता सेयरहरु १६ हजार १०० पटक किनबेच भएका छन् ।

बजार ओरालो लागेसँगै समग्र बजार पुँजीकरण २६ खर्ब ८७ अर्ब ३५ करोड ६० लाखमा खुम्चिएको छ । कारोबारयोग्य सेयरहरुको बजार पुँजीकरण ९ खर्ब ५८ अर्ब ६६ करोड ६३ लाख छ ।

अर्थतन्त्र कमजोर अवस्थामा हुनुका साथै राजनितिक अस्थिरता, पछिल्ला दिनमा देखिएका अनियमितता प्रकरण र त्यसमा उच्च तहका व्यक्तिको संलग्नता साथै उनीहरुको गिरफ्तारी लगायतले पनि लगानीकर्ताको मनोबललाई कमजोर बनाएको हो ।

बुधबार ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ८८ कम्पनीको सेयर मूल्यमा केही सुधार देखिएको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

हाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता सेयर मूल्य ८ प्रतिशतले बढेर १६३ रुपैयाँ ६० पैसा पुगेको बजारमा सबैभन्दा धेरै कारोबार पनि यसै कम्पनीको भएको छ । कारोबारमा आएको सेयर संख्या र कारोबार संख्याका आधारमा पनि हिमाल दोलखा हाइड्रो शीर्ष स्थानमा रहेको बजारमा बाराही हाइड्रो, आत्मनिर्भर लघुवित्त, बिपिडब्लु लघुवित्त, न्यादी हाइड्रो लगायत कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

मन्दाकिनी हाइड्रो, जालपा सामुदायिक लघुवित्त, इष्टर्न हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य घटेको बजारमा केही डिबेञ्चर तथा सामुहिक लगानी कोषहरुको मूल्य ओरालो लागेको छ ।