सरकारी जग्गा ब्यक्तिको नाममा पार्ने सर्भेक्षक सहित ११ जना विरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गाको नक्साको धर्सा मेटाई ब्यक्ति बिशेषको नाममा जग्गा बढ्ने गरी मिसाई भ्रष्टाचार गरेको आरोपमा कित्ताकाट कार्यमा प्रत्यक्ष संलग्न सर्भेक्षक सहित ११ जना विरुद्ध आरोपपत्र दायर गरेको छ ।

अख्तियारले तत्कालीन नापी कार्यालय, सुनसरीका कित्ताकाट कार्यमा प्रत्यक्ष संलग्न सर्भेक्षक उपेन्द्र दास र निजले गरेको कित्ताकाटको कामलाई प्रमाणित गर्ने सर्भेक्षक योगेन्द्र प्रसाद यादब, सर्भेक्षक कपलेश्वर राम, सर्भेक्षक सुकदेव यादव लगायतलाई आरोप पत्र दायर गरेको हो।

त्यस्तै,नापी कार्यालय सुनसरीभित्रै बसी अनाधिकृत रूपमा कित्ताकाट गर्ने, नक्सामा कित्ता नं. चढाउने र प्लट रजिष्ट्ररमा विवरण राख्नेजस्ता कार्यालयका दैनिक कामकाज गरी आएका गैरकर्मचारी रमेश प्रसाद साह तथा जग्गाधनी रमेश कुमार श्रेष्ठ, आसमा खातुनका विरुद्ध मुद्या दायर भएको हो ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय, सुनसरीसमेतको सरकारी जग्गाको नक्साको धर्सा मेटाई ब्यक्ति बिशेषको नाममा जग्गा बढ्ने गरी मिसाई भ्रष्टाचार गरेको आरोप छ ।

सरकारी कर्मचारी तथा गैरसरकारी ब्यक्तिहरू एकापसमा मिलेमतो तथा गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीहरुको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घट्ने गरी बिभिन्न मितिमा कित्ताकाट गरी जग्गा सुक्रीबिक्री गरी ब्यक्तिलाई फाईदा र नेपाल सरकारलाई नोक्सान हुने गैरकानूनी कार्य गरेकोले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

उनीहरुविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा सोही ऐनको दफा ८ को उपफा (१) बमोजिम कैद, सजायँ र बिगो बमोजिमको जरिवाना हुन मागदावी गरेको छ । अख्तियारीले उनीहरुसँग जनही ६ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।