सेयर कारोबारमा दैनिक गिरावट, बजेट कुर्दै लगानीकर्ता

0
Shares

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि सरोकारवालहरुसँगको छलफललाई तिब्रता दिइरहेकाबेला सेयर कारोबारमा दैनिक गिरावट आउन थालेको छ ।

सेयर बजारका लगानीकर्ताहरु बजेटको पर्खाइमा रहँदै गर्दा सेयर किनबेचको क्रमलाई घटाउन थालेका छन् । सेयर बजारको ओरालो यात्रा जारी रहेकाले पनि अधिकांश लगानीकर्ताले सस्तो मूल्यमा सेयर बिक्री गर्न चाहेका छैनन् भने खरिदकर्ता समेत पर्ख र हेरको अवस्थामै रहेका छन ।

मुलुकको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको चर्चा चलिरहदा सेयर बजार सुस्ताएको हो । सरकारले आगामी आवको बजेट र मौद्रिक नीति कस्तो ल्याउला भन्नेमा लगानीकर्ताको ध्यानकेन्द्रित रहेको छ । बैंकहरुले जेठमा ब्याज स्थिर राख्ने निर्णयले पनि लगानीकर्तारुलाई निराशा नै बनाएको छ । जसले गर्दा सेयर बजार घट्नेक्रम रोकिएको छैन भने कारोबारमा पनि गिरावट आइरहेको छ ।

बिहिबार नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ५९ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से २.४३ अंकले घटेर एक हजार ८ सय ४१ दशमलब ९३ विन्दुमा झरेकोे थियो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । विहीबार ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भयो। बुधबार ५८ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएका ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । १३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो।

आजको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रुपैयाँ पुगेको छ । यस दिन सिटिजन्स म्युचुअल फण्ड १, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रोपावर र कुमारी इक्विटी फण्डको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेका अनुसार आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था र बाराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार संख्याका आधारमा यस दिन मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ भने भोल्युमका आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।