जेठमा निक्षेपको ब्याजदर नघटे पनि कर्जाको घटाउने बैंकर्स संघको निर्णय

0
Shares

नेपाल बैंकर्स संघले जेठ महिनामा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ । जेठ महिनामा निक्षेपको ब्याजदर नघटे पनि कर्जाको भने घटाउने भएको छ ।

बिहिबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको तथा कर्जाको ब्याज घटाउने निर्णय भएको बैंकर्स संघका एक पदाधिकारीले जानकारी दिए ।

बैंकहरुले बैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एक अंकको सिमामा ल्याएका थिए । बैंकहरुले वैशाखदेखि व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तथा बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम गरेका थिए । कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ। गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएका थिए ।

तरलताको अभाव बढ्दै जाँदा बैंकहरुले निक्षेपको ब्याजदर १२.३३ प्रतिशतसम्म पुर्याएका थिए । बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए।

निक्षेपको ब्याजदर स्थिर भए पनि जेठमा वाणिज्य बैंकहरुले ऋणको ब्याजदर भने घटाउने छन्। राष्ट्र बैंकले गत सोमबार एक निर्देशन जारी गर्दै पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने निर्देशन दिएको थियो ।

सो नियमसँगै जेठ महिनाबाट बैंकहरूले ऋणको ब्याजदर समेत घटाउने भएका हुन ।बैंकरहरुका अनुसार जेठदेखि कर्जाको ब्याजदर एक देखि १.५० प्रतिशतसम्म घट्नसक्छ । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।