आरम्भ र चौतारी लघुवित्तले मर्जर र लाभांश प्रस्ताव पारित गर्न एकैदिन राखे साधारण सभा

0
Shares

एक आपसमा मर्जरको क्रममा रहेका आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्थाले पुस ९ गते एकैदिन साधारण सभा बोलाएका छन् । दुवै संस्थाको साधारण सभाले मर्जर तथा गत बर्षको लाभांश प्रस्ताव पारित गर्नेछ।

आरम्भ लघुवित्त वित्तीय संस्थाको साधारण सभा पञ्चकन्या बेन्क्वेट प्रा.लि., बनेपामा बिहान ११ बजे सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साथै चौतारी र आरम्भ १ बराबर १ शेयर आदानप्रदान अनुपातमा मर्ज हुने, मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने, एकीकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३.६६ र सर्वसाधारणको ३६.३४ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रहेको छ। बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड ४४ लाख पुग्नेछ। साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

चौतारी लघुवित्त वित्तीय संस्था

यस्तै, चौतारी लघुवित्त वित्तीय संस्थाले पनि पुस ९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा दियालो फुडल्याण्ड, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पारित गर्नेछ । कम्पनीले २०७५–७६ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र १०.८९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

साथै आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव सभामा पेश गर्दैछ । सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ ।

साधारण सभा प्रयोजनका लागि चौतारीले मंसिर २२ गते देखि पुस ९ गतेसम्म बुक क्लोज गर्दैछ ।

हाल चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ पुग्नेछ । दुवै कम्पनी एक भएपछि भने चुक्ता पुँजी अझै बढ्नेछ ।