प्रशासकीय र लेखा अधिकृतलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध १० लाख ८ हजार ९६५ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयसवाल र लेखा अधिकृत चौधरी विरुद्ध रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

बजेटलाई आफूखुसी परिवर्तन गरी बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यमा नभएको काम भए गरेको हो भनी नापी किताब र बिलसमेत तयार पारी कार्य सम्पन्न प्रतिवेदन प्रमाणित गरेको आधारमा उनको विरुद्ध मुद्दा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) वमोजिम झुट्टा बिल बनाई भुक्तानी दिने कसुर गरेको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो रकम असुल उपर गर्न माग दाबी गरिएको छ ।

यसैबिच सोही कार्यमा संलग्न रहेको भन्दै इन्जिनियर अजित कुमार गुप्ता र असिष्टेन्ट सबइन्जिनियर दिनेश कुमार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेश प्रसाद यादव, सचिव बैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गिता कुमारी यादवविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 

इन्जिनियर अजित कुमार गुप्ता र असिष्टेन्ट सबइन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) वमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो रकम असुल उपर हुन साथै निज प्रतिवादीहरुले गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (३) बमोजिमको कसुरसमेत गरेकोले सोही ऐनको दफा ज्ञढ को उपदफा (३) वमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।

यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (घ) वमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (घ) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।

यस्तै अन्य तीनजना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।