अरुण भ्याली हाइड्रोपावरलाई १.८६ अर्बको हकप्रद निष्काशनको पूर्व स्वीकृति

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले एक बराबर एक अनुपात (शतप्रतिशत) मा १अर्ब ८६ करोड मूल्यको हकप्रद बिक्री गर्नका लागि स्वीकृति पाएको छ ।

कम्पनीले जलविद्युत कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगबाट उक्त अनुपातमा हकप्रद बिक्रीका लागि प्रकृया अगाडि बढाउन स्वीकृति पाएको हो । आयोगको जेठ ५ गते शुक्रबार सम्पन्न १९३ औं बैठकले उक्त स्वीकृति दिएको हो ।

आयोगका शाखा अधिकृत सावित्रा पाण्डेका अनुसार अरुण भ्याली हाइड्रोपावर कम्पनीलाई १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न शुक्रबार आयोगले सहमति प्रदान गरेको हो ।

कम्पनीले हकप्रद सेयरको निष्कासन पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगसँग गत बैशाख ८ गते अनुमति माग गरेको थियो । कम्पनी सञ्चालक समितिको बैशाख ६ गते बसेको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएसँगै कम्पनीको अब विशेष साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सो पश्चत कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँ अनुमति पाउनुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र कम्पनीले बुकक्लोज तोकेर हकप्रद बिक्रीमा ल्याउनेछ ।

हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम कम्पनीले ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वस्पूँजीको लागि लगानी गर्नेछ । यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने यसअघि नै बताइसकेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।