नेप्सेमा दोहोरो अंकको गिरावट, १४१ अंक बढेपछि घट्यो

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । यसअघि लगातारको ७ कारोबार दिनमा १४१ अंकको वृद्धिपछि आइतबार १७.३८ अंकको गिरावट आएको हो ।

नेप्सेमा लगातार वृद्धि हुँदै आएकोमा अल्पकालीन लगानीकर्ताले छोटो समयमा नै नाफा कमाएपछि नाफा सुरक्षित गर्ने होडले बजारमा करेक्सन आएको हो । यद्यपी बजार लगातार बढ्दै जानुभन्दा करेक्सन हुादै जाँदा बलियो बन्दै जाने अनुभवी लगानीकर्ताहरु बताउँछन् ।

आज कारोबारमा आएका उत्पादनमुलक र म्युचुअल फन्ड बाहेक सबै ११ वटै सूचक घटेका छन् । होटल सर्वाधिक २.७७ प्रतिशतले घटेको बजारमा निर्जीवन बीमा, फाइनान्स, विकास बैंकको इन्डेक्स पनि २ प्रतिशतभन्दा बढीले घटेको छ ।

आइतबार २७० कम्पनीका ७० लाख ५० हजार ३९ कित्ता ४७ हजार ६७४ वटा संख्यामा खरिद बिक्री हुँदा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएका छन् । बजारमा करेक्सन आएपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा ७६ करोड ६६ लाख रुपैयाँले बढेको छ । बुधबार १ अर्ब ८७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड ७९ लाख ९४ हजार रुपैयाँ बराबरको ४ लाख ५९ हजार २३९ कित्ता सेयर २५०३ वटा संङ्ख्यामा खरिद बिक्री भयो । यस्तै नेपाल टेलिकमको ९ करोड १३ लाख २ हजार, सोल्टी होटल लिमिटेडको ८ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर ८ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । पाँचौं ठूलो कारोबार भएको नेपाल इन्फ्रास्टक्चर बैंकको ७ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आजको बजारमा आत्मनिर्भर लघुवित्त युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै मर्जरमा गएको युनियन लाइफ इन्स्योरेन्सको भुलवस कारोबार भई आइतबार सर्किट लागेको छ । गुराँय लाइफ, प्राइम लाइफ र युनियन लाइफ मर्जर भई बैशाख २६ गतेदेखि हिमालयन इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालेका थिए । तर नयाँ नामबाट एकीकृत कारोबार थालेपनि सेयर सूचीकृत भैसकेको छैन । युनियन लाइफको १९० कित्ता सेयर ७२ हजार ५५२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

एनएमबि डिबेञ्चर २०८७/८८ को मूल्य ६.०१ प्रतिशत, चिलिमे हाइड्रोपावर ५.९९, नेपाल बैंकको ४.८६, आदर्श लघुवित्तको ४.०१, सामुदायिक लघुवित्तको ३.७५, उन्नति सहकार्य लघुवित्त ३.०६, नबिल इक्वीटी फन्ड २.८४ र एशियन हाइड्रोपावरको २.४४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

उता हिमालयन उर्जा विकास कम्पनीको सेयर आइतबार सर्वाधिक ६.४० प्रतिशतले घटेको छ । न्यादी हाइड्रोपावरको ५ प्रतिशत, नयाँ साथी लघुवित्त ४.९०, नेशनल माइक्रोफाइनान्सको ४.७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ४.४२ प्रतिशतले घटेको छ ।

आइतबारको गिरावटसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पुँजीकरण २८ खर्ब ३३ अर्ब ५५ करोड २९ लाख ८० हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबारको तुलनामा २४ करोड ५१ लाख रुपैयाँले घटेको हो । बुधबार बजार पुँजीकरण २८ खर्ब ५८ अर्ब ६ करोड २६ लाख ३० हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।