रकम हिनामिना गरेको भन्दै शिवशिखर र इमेज सहकारीका बचतकर्ता प्रदेशसभामा


सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ ।

गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको आइतबार बसेको बैठकको विशेष समय लिएर सदस्य पाठकले बेपत्ता भएका सञ्चालकको चल–अचल सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न माग गरे । प्रदेशसभा सदस्य सुवेदीले एक हजार दुई सय बचतकर्ता अहिले बिचल्लिमा परेको बताए ।

दुवै सहकारीका सञ्चालक बेपत्ता भएको र बचतकर्ता यतिबेला आफ्नो रकम जोखिममा परेका कारण सङ्कटमा रहेको जनाउँदै उनले गण्डकी प्रदेश सरकारले यस्ता विषयमा तत्काल कदम चाल्नुपर्नेमा प्रदेश सभा सदस्यले जोड दिएका छन् । बागलुङ र पोखरामा गरी इमेज सहकारीले एक अर्ब ९९ करोड रुपैयाँ र शिव शिखरले ४५ करोड जोखिममा पारेको जनाइएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।