नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रटाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत कल्पना पौडेल (पब्लिक हेल्थ नर्सिङ छैटौँ) विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा बन्ध्याकरणका आवश्यक सरसामान ढुवानी गर्ने, लाभग्राही लिन र पु¥याउने जाने प्रयोजनका लागि गाडी भाडामा लिँदा ८१ हजारको फर्जी बिल बनाई सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।
निज पौडेललाई सोही रकम बराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यसैगरी सेवाग्राहीसँग घुस लिँदालिँदै आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सो कार्यालयमा कार्यरत नायब सुब्बा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयका कार्यालय सहयोगी (करार) भाइकाजी गौतमलाई ४० हजार घुस दिन लगाएको आयोगले जनाएको छ ।
सेवाग्रहीबाट उक्त घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया