छुट सुविधा नदिने ६८ अस्पताल प्रशासन बन्द गर्ने बालेनको चेतावनी


काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कानुनअनुसार छुट नदिने ६८ अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् ।

विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्था बन्द गराइदिने बालेनले चेतावनी दिएका हुन् ।

उनले स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पनि ध्यानाकर्षण गराएको जानकारी गराएको बताउँदै यदि उनलेले ७ दिन भित्र उनीहरुलार्ई कानुनी दायरामा नल्याए आफैँले अस्पताल प्रशासन बन्द गरिदिने बताए ।

“काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,” मेयर बालेन सामाजिक सञ्जाल फेसबुकमा लखेका छन्,“यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।”

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख छ ।

मेयर शाहका अनुसार काठमाण्डौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो । यसअघि महानगरले जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण मागेको थियो । सो समयमा नै विपन्न बिरामीका लागि छट्टुाइएको निशुल्क उपचारको व्यवस्था अनुसारको विवरण प्रत्येक महिनाको १० गतेसम्म नबुझाए कारवाही गर्ने अस्पतालहरुलाई चेतावनी दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।