शेयर बजारमा सुधार आउन थालेपछि कारोबार रकममा पनि दैनिक बढोत्तरी

0
Shares

यो साताको पछिल्लो तीन शेयर बजार परिसूचक नेप्से तथा कारोबार रकममा समेत लगातार वृद्धि देखिएको छ। बजारले सुधारको गति लिन थालेपछि दैनिक कारोबार रकम समेत बढ्दै गएको हो ।

शेयर बजार निरन्तर ओरालो लाग्दा निराश बनेका लगानीकर्ताले बजार विस्तारै बढ्न थालेपछि लगानी समेत बढाउँदै लगेका छन् । जसले गर्दा दैनिक कारोबार रकममा समेत क्रमश सुधार देखिएको छ ।

पछिल्लो तीन दिनमा मात्र नेप्से झण्डै २० अंकले उकालो लागेको छ । मंगलबार ३.७५ अंकले बढेको बजार, बुधबार ८.७२ अंकले बढेको थियो भने सातको अन्तिम दिन विहीबार ७.४५ अंकले उकालो लागेर ११३१.९२ अंकमा पुगेको छ ।

पछिल्ला तीन दिनको कारोबार रकममा पनि क्रमश स्ुधार देखिएको छ । मंगलबार २३ करोड बढीको कारोबार भएको बजारमा बुधबार साढे २६ करोड बढीको कारोबार भएको थियो । विहीबार कारोबार रकम बढेर ३५ करोड ८८ लाख पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ करोड बढी हो ।

विहीबारको बजारमा १६८ कम्पनीको १० लाख ९५ हजार कित्ता शेयर किनबेच भयो । कारोबारमा आएका उत्पादन समूह बाहेक बाँकी सबै समूहका सूचक उकालो लागेको छ ।

यसदिन सबैभन्दा धेरै कारोबार नेपाल लाइफको ३ करोड ५१ लाख बराबरको शेयर किनबेच भयो । एनएमबि बैंकको पनि २ करोड २२ लाख बराबरको कारोबार भयो।

समटि लघुवित्तको सबैभन्दा धेरै ७ प्रतिशत भन्दा धेरैले शेयर मूल्य बढेको बजारमा गणपति माइक्रो, सामुदायिक लघुवित्त, नविल इक्वीटी फण्ड तथा गुराँस लाइफ लगायतको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोको शेयर मूल्य ७ प्रतिशत बढीले ओरालो लाग्यो । वरुण हाइड्रो महुली लघुवित्त लगायतको शेयर मूल्य घटेको छ ।