नेप्से साढे १६ अंकले बढ्यो, लगानीकर्ताको आन्दोलनले कारोबार खुम्चियो

0
Shares

बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १६.५४ अंकले बढेर १८६६ दशमलव ३४ को बिन्दुमा बन्द भएको छ ।बजेटमा आएको कर अन्यौलताले दुई दिनमा ९२ अंकले घटेको बजारमा साताको अन्तिम कारोबारको दिन बिहीबार दोहोरो अंकको वृद्धि आएको हो ।

ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.१९ अंकले बढेर ३५५.६२ बिन्दुमा पुगेर बन्द भएको हो । कारोबारमा आएका २७२ स्क्रिप्टमध्ये २०० वटाको मूल्य बढेको छ भने ५७ वटाको घटेको छ । १५ वटा स्थीर रहेका छन् ।

उता नेप्से परिसूचक बढेपनि लगानीकर्ताहरुको आन्दोलनका कारण कारोबार रकम भने ६६ करोड रुपैयाँले घटेर १ अर्ब ६५ करोडमा सीमित बनेको छ । अल्पकालिन र दीर्घकालिन लगानीकर्ताहरुको लागि हाल कायम रहेको ७.५ प्रतिशत र ५ प्रतिशत करको दरलाई नै अन्तिम कर मान्नुपर्ने माग गर्दै सेयर लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आन्दोलनरत लगानीकर्ताले ब्रोकर एशोशियसन,नेपाल स्टक एक्सचेञ्जर नेपाल धितोपत्र बोर्डमा सोत ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार २७२ स्क्रिप्टको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो कारोबारको दिन बुधबार ३८.८३ अंकले नेप्से घट्दा कारोबार २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँको भएको थियो ।

आजको बजारबाट जोशी हाइड्रोपावर कम्पनीको सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ । यस्तै बिपिडब्लु लघुवित्तको ६.०८, एशियन हाइड्रोपावर ५.०७ र पाँचथर पावरको ५.०६ प्रतिशतले सेयर मुल्य बढेको छ ।

उता कारोबारमा आएकामध्ये सनराइज फोकस इक्विटी फन्डको मूल्य सबैभन्दा बढी ६ प्रतिशतले घटेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशत, माईखोला जलविद्युतको ३.९९, नबिल ब्यालेन्स्ड फन्ड–२ को ३.२६ र सामुदायिक लघुवित्तको सेयरमूल्य २.९८ प्रतिशतले घटेको छ ।

आजको बजारमा प्रभु बैंकको संस्थापक सेयर कारोबार रकमको आधारमा शीर्ष स्थानमा रहेको छ । प्रभु बैंकको २३ करोड २१ लाख रुपैयाँ बराबरको प्रोमोटर सेयर कारोबार भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ११ करोड २५ लाख, एनआईसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र आत्मनिर्भर लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र रहेको छ ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहगत परिसूचक बढेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक १.९३ प्रतिशत, होटल तथा पर्यटनमुलक १.४९, जलविद्युत १.३९, लगानी १.३४, उत्पादन तथा प्रशोधन १.१७ प्रतिशतले बढेको छ ।

बिहीबारको कारोबारपछि समग्र बजार पुँजीकरण २७ खर्ब २४ अर्ब ६५ करोड १४ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।