आँखुखोला जलविद्युतको हकप्रद घट्यो, अब १५० प्रतिशत मात्र बिक्री गर्ने

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयरको अनुपात घटेको छ । यसअघि चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले अब भने १५० प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेर नियामक निकाय विद्युत् नियमन आयोगसँग पुर्व स्वीकृति मागेकोमा आयोगले १५० प्रतिशत मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृत गरेको हो ।

कम्पनीको सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले चुक्ता पुँजी ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर आयोगको निर्देशन अनुसार नै अब कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराउने भएको छ । जेठ १७ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर १.५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

अब उक्त निर्णय विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीले आगामी वार्षिक साधारण सभाबाट हकप्रद बेच्ने प्रस्ताव अनुमोदन गर्नेछ । साधारण सभाबाट पारित भएपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएको दुई महिनाभित्र कम्पनीले बुकक्लोज तोकेर विद्यमान सेयरधनीलाई हकप्रद सेयर बिक्री गर्नेछ ।

कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८६ लाख ५२ हजार खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ४ लाख बढी आम्दानी गरेकोमा २ करोड १८ लाखले नाफा घटेको हो । विद्युत् बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा खस्किएको हो ।

गत वर्ष १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् बिक्री आम्दानी गरेको हाल १५ करोड ४५ लाख रुपैयाँको मात्र बिजुली बेचेको छ । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १ रुपैयाँ ४४ पैसा र प्रति सेयर नेटवर्थ ७१ रुपैयाँ २५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।