अन्तर्राष्ट्रिय बजारमा डलर विस्थापन गर्ने कार्य बढ्दै: जेपी मोर्गन

0
Shares

अन्तर्राष्ट्रिय व्यापारको मुद्रा डलरलाई विस्थापित गर्न पछिल्लो समयमा विभिन्न देशहरुले नयाँ व्यापारिक मुद्राको विकास गरिरहेका छन् । जेपी मोर्गन बैंकका रणनीतिज्ञहरुले विश्वव्यापी अर्थतन्त्रमा डलर विस्थापनका लागि विभिन्न गतिविधिहरु भइरहेको जनाएका छन् ।

पछिल्लो समयमा अमेरिकाले रुसमा लगाएको प्रतिबन्धपछि रुस, ब्राजिल, भारत, चीन, दक्षिण अफ्रिका लगायतका राष्ट्रहरुले डलरको एकाधिकार हटाउनका लागि “साझा मुद्रा” को अवधारणा अगाडि सारेका छन् । अमेरिका तथा यूरोपियन युनियन अन्तर्गतका राष्ट्रहरुले रुसमा प्रतिबन्ध लगाएका कारण रुसले रुसी रुबल र चिनियाँ युआनमा कारोबार गर्दै आएका छन् ।

अमेरिकाले रुसमा लगाएको प्रतिबन्ध कारण रुसले व्यापार सम्बन्ध भएका राष्ट्रहरुलाई रुसी रुबलमै कारोबार गर्न आदेश दिएको छ । जसकारण पछिल्लो समयमा अमेरिकी डलरको प्रभुत्व घट्दै गएको छ । हाल अन्तर्राष्ट्रिय व्यापारमा डलरको हिस्सा ८८ प्रतिशत रहेको छ । यूरोको व्यापारिक हिस्सा ८ प्रतिशत रहेको छ । चिनियाँ युवानको अन्तर्राष्ट्रिय व्यापारमा हिस्सा बढेसँगै यूरोको हिस्सा घटेको छ ।

हाल चिनियाँ युआनको अन्तर्राष्ट्रिय व्यापारमा हिस्सा ७ प्रतिशत रहेको छ । अन्तर्राष्ट्रिय व्यापारमा डलरको प्रभुत्व कम हुँदै जाँदा विदेशी विनिमय सञ्चितिमा डलरको हिस्सा समेत कम हुँदै गएको जेपी मोर्गनका रणनीतिज्ञहरुले बताएका छन् । विश्वव्यापी रुपमा केन्द्रीय बैंकहरुको विदेशी सञ्चितिमा डलरको हिस्सा ५८ प्रतिशत रहेको छ । डलरको सञ्चितिमा कमी आउँदै गर्दा सुनको सञ्चिति बढेर गएको छ । पाँच वर्ष अगाडि सुनको सञ्चिति ११ प्रतिशत थियो तर अहिले सुनको सञ्चिति ४ प्रतिशतले बढेर १५ प्रतिशत पुगेको छ ।

विदेशी सञ्चितिमा मात्रै नभई स्वीफ्ट भुक्तानी प्रणालीमा समेत डलरको हिस्सा घट्दै गएको छ । स्वीफ्ट भुक्तानी प्रणालीमा चिनियाँ युआनको कारोबार २.३ प्रतिशत रहेको छ भने डलरको कारोबार ४३ प्रतिशत र यूरोको कारोबार ३२ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।