विश्वव्यापी रुपमा बढेको ब्याजदरका कारण विश्वभरकै आर्थिक वृद्धि सुस्ताउँदै

0
Shares

विश्वव्यापी रुपमा बढेको ब्याजदरका कारण विकसित तथा विकासोन्मुख राष्ट्रहरुको आर्थिक वृद्धि दर सुस्ताउँदै गएको छ । विश्व बैंकले सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धि दर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

सन् २०२२ मा ३.१ प्रतिशत रहेको आर्थिक वृद्धि दर सन् २०२३ मा १ प्रतिशत विन्दुले खुम्चिएर २.१ प्रतिशत हुने विश्व बैंकले सार्वजनिक गरेको गलोबल इकोनोमिक प्रोस्पेक्टीभमा उल्लेख छ ।

यस्तै गत वर्षमा ४.१ प्रतिशत रहेको उत्थानशील अर्थतन्त्रहरुको आर्थिक वृद्धि दर सन् २०२३ मा खुम्चिएर २.९ प्रतिशत रहने छ । सन् २०२२ मा विकसीत राष्ट्रहरुको आर्थिक वृद्धि दर २.६ प्रतिशत रहेको थियो । यो वर्ष उक्त देशहरुको वृद्धि दर १.९ प्रतिशत विन्दुले खुम्चिएर ०.७ प्रतिशत कायम रहने प्रतिवेदनमा छ।

रुस–युक्रेन युद्धका कारण आपूर्ति श्रृङ्खला अवरोध हुँदा आकाशिएको मुद्रास्फीति नियन्त्रणका लागि अमेरिका, बेलायत, युरोपियन युनियन, क्यान्डा, अष्ट्रेलिया लगायतका देशहरुले ब्याजदर बढाइरहेका छन् । जसकारण सन् २०२४ मा विबसीत देशहरुको आर्थिक वृद्धि दर न्यून रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धि दर १.१ प्रतिशत रहने छ भने सन् २०२४ मा खुम्चिएर ०.८ प्रतिशत हु्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै युरोप क्षेत्रको आर्थिक वृद्धि दर सन् २०२३ मा ०.४ प्रतिशत रहने छ ।

इन्धनको मूल्यमा भएको वृद्धि र केन्द्रीय बैंकले अपनाएको संकुचित मौद्रिक नीतिका कारण हाल युरोपका केही देशहरु आर्थिक मन्दीमा प्रवेश गरेका छन् ।

सन् २०२३ मा पूर्वी एशिया र प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि दर ५.५ प्रतिशत रहने अनुमान रहेको छ भने सन् २०२४मा उक्त वृद्धि दर खुम्चिएर ४.६ प्रतिशत रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । यस्तै युरोप र सेन्ट्रल एशियाको अर्थिक वृद्धि दर सन् २०२३ मा १.४ प्रतिशत हुने र सन् २०२३ मा २.७ प्रतिशत रहने छ ।

सन् २०२३ मा ल्याटिन अमेरिका र क्याराबियन क्षेत्रको आर्थिक वृद्धि दर १.५ प्रतिशत र सन् २०२४ मा २ प्रतिशत रहने अनुमान छ । मिडिल इस्ट र उत्तरी अफ्रिकाको आर्थिक वृद्धि दर सन् २०२३मा २.२ प्रतिशत रहने र सन् २०२३ मा १.१ प्रतिशतले विस्तार भई ३.३ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । यस्तै सब–सहारन अफ्रिकाको वृद्धि दर सन् २०२३ मा ३.२ प्रतिशत र २०२४मा ३.९ प्रतिशत रहने प्रक्षेपण छ ।

सन् २०२३ मा सबैभन्दा राम्रो आर्थिक वृद्धि दर दक्षिण एशिया क्षेत्रको रहेको छ । सन् २०२३ मा दक्षिण एशिया क्षेत्रको वृद्धि दर ५.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । तथापि सन् २०२४ मा दक्षिण एशियाली क्षेत्रको वृद्धि दर ०.८ प्रतिशत विन्दुले खुम्चिएर ५.१ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीति दर नियन्त्रणका लागि विकसित तथा विकासशील राष्ट्रका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् । जसकारण उद्योगी व्यवसायीहरुले ऋण लिएर लगानी गर्न बन्द गरेका छन् । उद्योगहरुमा लगानी नबढ्दा उद्योगहरुले कर्मचारी कटौती गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन् । उच्च ब्याजदरका कारण उद्योगहरुले लिएको ऋण समयमा तिर्न नसक्दा बन्द हुने अवस्थामा पुगेका छन् । जसकारण बेरोजगारी दर बढ्दै गएको छ ।

गरिबी हटाउने तथा देशलाई समृद्ध बनाउने एउटै अस्त्र रोजगारी भएता पनि पछिल्लो समयमा नयाँ रोजगारी सिर्जना नहुँदा बेरोजगारी दर बढ्दै गएको छ , जसकारण गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या बढ्दै गएको विश्व बैंक समूह अध्यक्ष अजय बङ्गाले बताए ।

हालको विश्वव्यापी आर्थिक अवस्था संकटउन्मुख अवस्थामा रहेको विश्व बैंक समूहका वरिष्ठ उपाध्यक्ष इन्दरमीत गीलले जनाएका छन् । तथापि विश्व बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुमानित भएका कारण आगामी समयमा आर्थिक वृद्धि दर बढ्न सक्ने गीलले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।