अर्थमन्त्री भन्छन् : बैंकहरुमात्रै सम्बृद्ध भएर पुग्दैन व्यवसायी, निक्षेपकर्ता र शेयर होल्डर पनि सम्बृद्ध हुनुपर्यो

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेकोे जानकारी दिँदै मर्जरले बित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास बताएका छन् ।

जनता बैंकसँगको मर्जर पछि शुक्रबारबाट एकीकृत कारोबार शुभारम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे ।

खतिवडाले भने, “आगामी दिनमा पनि तपाईहरुको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ,”

विगतमा रहर र लहडमा बैंक तथा वित्तीय संस्था चलाएकाहरुलाई त्यो तनाबबाट उन्मुक्ति लिने उपयुक्त अवसर रहेको बताउँदै उनले एकाघरको लगानी रहेका बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जान सुझाब समेत दिए ।

बैंकहरुमात्रै सम्बृद्धि भएर नपुग्ने भन्दै व्यवसायी, निक्षेपकर्ता, शेयर होल्डरलाई पनि सम्बृद्ध बनाउने गरी काम गर्न आग्रह गरे । साथै उनले सेवाशुल्क लगायत बाहनामा ऋणहरुबाट धेरै शुल्क नलिन पनि आग्रह गरे ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको नीति लिएको अवस्थामा बिग मर्जर गरेका ग्लोबल र जनताको एकीकृत कारोबार शुक्रबारबाट शुरु भएको हो ।