रावा इनर्जीको आईपीओ मंगलबार दिउँसो बाँडफाँड हुने, कतिले पाउँछन् ?

0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबार दिउँसो बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा जेठ ३० गते मंगलबार दिउँसो ४ बजे कार्यालय कमलादी, काठमाडौंमा सेयर बाँडफाँड गरिन लागिएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट ६४ हजार ३६६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । यसरी सेयर प्राप्त गर्नेमध्ये ७ जनाले थप १।१ कित्ता गरी ११ कित्ता सेयर बाँडफाँड हुनेछ । कम्पनीको निष्काशित सेयरको तुलनामा अधिक आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई ६ लाख ९६ हजार ३३० कित्ता सेयरको बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६१६ कित्ता सेयर छुट्याईएको थियो । बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

यसमा मागभन्दा १४.८९ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको माग गर्दै आवेदन दिएका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार कम्पनीको आईपीओमा ११ लाख १ हजार १६० जनाको हात खाली हुनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले रावाको आईपीओलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।