त्रिवेणी ग्रुपको ग्रीन भेन्चर्सको खुद नाफामा उछाल

0
Shares

ब्यापारिक घराना त्रिवेणी ग्रुपको मुख्य लगानी रहेको ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफामा आकर्षक सुधार आएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४४.७५ प्रतिशतले खुद नाफा वृद्धि गर्दै ३० करोड १६ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ७८ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आय पनि १०१.११ प्रतिशतले बढेर १ अर्ब २१ करोड ९८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको वित्तीय खर्च ६६ प्रतिशत बढेर ४७ करोड ६४ लाख ५३ हजार पुगेको छ भने प्रशासनिक खर्च ६६ प्रतिशत घटेर १ करोड ७२ लाख ८८ हजारमा रहेको छ ।

चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा बढेर १२ रुपैयाँ ८७ पैसा पुगेको छ । गत आवको सोही अवधिमा २ रुपैयाँ ८९ पैसा इपीएस थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६६ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३२.५० गुणा रहेको छ ।

कम्पनीको जगेडा कोष (रिटेन्ड अर्निङ) मा २० करोड ८० लाख ८५ हजार रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिमा १३ करोड ६२ लाख ६१ हजार रुपैयाँले ऋणात्मक थियो ।

ग्रीन भेञ्चरले रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४० मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ कार्तिक २१ गतेदेखि व्यवसायीक रुपमा विद्युत उत्पादन गर्दै आइरहेको छ । कम्पनीको प्रतिसेयर लागत मूल्य २३ करोड रुपैयाँ छ । कुल १२ अर्ब ८ करोड लागत रहेको आयोजनाबाट साधारण लगानी फिर्ता अवधि ७.९१ वर्ष र डिस्काउन्टेड मा लगानी फिर्ता अवधि ११.५७ वर्ष लाग्ने छ ।

ग्रीन भेन्चरले हाल नेपाल भरिका विभिन्न मध्यमदेखि ठूला आकारका जलविद्युत परियोजनाहरू विकास गर्दैछ । ग्रीन भेञ्चरमा त्रिवेणी ग्रुपसँग विशाल ग्रुपले लगानी साझेदारी गरेको छ । यी दुई घरानाबीच जलविद्युत् तथा सिमेन्ट दगायतमा साझेदारी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।