आइएमई ग्रुपको भेन्चर हायर पर्चेसको ३ महिनाको आम्दानी ३ करोड

0
Shares

आइएमई ग्रुपको लगानी रहेको भेन्चर हायर पर्चेस प्रालिले आर्थिक वर्ष २०२३/२४को पहिलो त्रैमासमा ३ करोड आम्दानी गरेको छ ।

कम्पनीले गत आवमा कुल ६ करोड ९० लाख आम्दानी गरेको थियो । गत आवको तुलनामा यो आवमा कम्पनीको आम्दानी बढ्ने प्रक्षेपण रहेको छ ।

आव २०२३/२४ को पहिलो त्रैमाससम्ममा कम्पनीको नेटवर्थ ३४ करोड ५० लाख रहेको छ । गत आवमा कम्पनीको नेटवर्थ ३४ करोड ३० लाख रहेको थियो ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट हायर पर्चेसको इजाजत पाएको कम्पनीले कर्मेशियल भेइकलहरुको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ । आव २०२३/२४ को पहिलो त्रैमासमा कम्पनीले कुल ७९ करोड ३० लाख बराबरको पोर्टफोलियो व्यवस्थापन गरिरहेको छ । यस्तै कम्पनीले ८२ करोड ७० लाख सम्पत्तिको व्यवस्थापन गरिरहेको छ ।

कम्पनीमा सम्पूर्ण लगानी आइएमई मोटर्सको रहेको छ । सन्दिप अग्रवाल कम्पनीका अध्यक्ष रहेका छन् । आइएमई ग्रुपको हिस्सा भएका कारण कम्पनीलाई आर्थिक तथा प्राविधिक सेवा सुविधा मिलिरहेको छ ।

एक अर्ब ५० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । १ अर्ब ४५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी माइन्स रेटिङ दिएको छ भने ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए४ रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।