निर्माण क्षेत्रमा छाएको मन्दीले शुभश्री अग्नि सिमेन्टको आम्दानी ३० करोडले घट्यो

0
Shares

पछिल्लो समयमा निर्माण क्षेत्रमा छाएको मन्दीले भौतिक विकासका कामले तीव्रता नपाउँदा सिमेन्ट उत्पादक कम्पनीहरुको आम्दानीमा गिरावट आएको छ ।

सन् २०२१ मा २ अर्ब ४६ करोड ७० लाख सञ्चालन आम्दानी गरेको शुभश्री अग्नि सिमेन्ट उद्योगको आम्दानी सन् २०२२ मा २ अर्ब १६ करोड ५० लाख रहेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी ३० करोड २० लाखले घटेको हो ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा पनि कमी आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, बर र भाडा सहितको कम्पनीको नाफा सन् २०२२ मा कुल सञ्चालन आम्दानीको २६.२६ प्रतिशत रहेको छ । जुन यस अघि २९.३० प्रतिशत थियो ।

सन् २०१३ मा स्थापना भएको सिमेन्ट उद्योगले क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको प्युठानमा आफ्नै चुनढुङ्गा खानी रहेको छ । उद्योगको क्लिंकर उत्पादन क्षमता ७०० मेट्रिक टन प्रति दिन रहेको छ भने ग्राइन्डिङ क्षमता १२०० टन प्रति दिन रहेको छ । कम्पनीले ‘प्युठान सिमेन्ट’ ब्रान्डनामबाट सिमेन्टको बिक्री वितरण गर्दै आएको छ ।

सन् २०२२ मा भौतिक निर्माणका कार्य तीव्र गतिमा अगाडि नबढेता पनि सन् २०२३ मा नेपाल सरकारले भौतिक संरचनाको विकासमा जोड दिएको छ । जसकारण कम्पनीको आम्दानी आगामी समयमा बढ्ने अनुमान गर्न सकिन्छ ।

कम्पनीको संस्थागत प्रमोटर–अग्नि सिमेन्ट इन्डिष्ट्रिज रहेको छ । कृष्ण प्रसाद पोखरेल कम्पनीका अध्यक्ष रहेका छन् भने प्रबन्ध निर्देशक डा। तारा प्रसाद पोखरेल रहेका छन् ।

कम्पनीले ४ अर्ब ५९ करोड ६७ लाख २० हजार बराबरको दीर्घकालीन तथा अल्पकलाीन कर्जाका लागि रेटिङ गराएको छ । १ अर्ब ९३ करोड ६७ लाख २० हजार बराबरको दीर्घकालीन कर्जाका लागि केयर नेपालले डबल बी प्लस रेटिङ गरेको छ भने २ अर्ब ६६ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.६९ प्रतिशत रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।