एशियन पेन्ट्सको आम्दानीमा आकर्षक वृद्धि, वार्षिक पौने ११ अर्बको कारोबार

0
Shares

एशियन पेन्ट्स इन्डियाको भगिनी संस्था एशियन पेन्ट्स नेपालले सन् २०२२ मा १० अर्ब ७५ करोड ५० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा ७ अर्ब ३० करोड ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा ४७.२६ प्रतिशतले बढेको हो ।

कम्पनीको आम्दानीमा आकर्षक वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचकांकमा समेत सकरात्मक सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहितको कम्पनीको नाफा सन् २०२२ मा कुल सञ्चालन आम्दानीको १७ प्रतिशत पुगेको छ ।

सन् १९८३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका पेन्ट्स, सिमेन्ट पेन्टस्, इमल्सन, डिस्टेम्पर, नाइफिङ पेस्ट, सल्भेन्ट, प्राइमर लगायतका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४० ब्रान्डनामबाट सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ । सन् २०२२ बाट कम्पनीले बाथरुम फिटिङ सम्बन्धी सामाग्रीको उत्पादन समेत गर्दै आएको छ ।

पछिल्लो समयमा तीव्र गतिमा नेपालमा घर तथा भवनहरु निर्माण हुने क्रम बढेको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानीमा परेको देखिन्छ ।
एशियन पेन्ट्स इन्डियाको भगिनी संस्था रहेका कारण कम्पनीमा एशियन पेन्ट्स इन्डियाको ५३ प्रतिशत सेयर हिस्सा रहेको छ । साथै रवि एशोसियट्सको सेयर लगानी ९ प्रतिशत रहेको छ भने २६ वटा सेयर होल्डरको लगानी ३८ प्रतिशत रहेको छ ।

एक अर्ब ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए१ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १६५ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।