नेप्सेमा सामान्य करेक्शन, ९ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य करेक्शन भएको छ । यसअघि लगातार ९ दिन बढेपछि दशौं दिनमा बजार सामान्य घटेको हो । यसबीचमा १९२।३२ अंकले वृद्धि भएको नेप्से सोमबार २.९४ बिन्दुले घटेको हो ।

सोमबार नेप्से २.९६ अंकको घटेर २०९१ दशमलव ३९ बिन्दुमा झरेको छ । आइतबार नेप्से ५२.२६ अंकको बढोत्तरीसँगै २०९४ दशमलव ३३ बिन्दुमा बन्द भएको थियो । नेप्सेमा इन्ट्रा डे करेक्शन आउँदा बजार मतबुच बन्दैगएको देखिन्छ भने बजारमा कारोबार र भोल्यूमले साथ दिएकाले बजार गतिशिल नै देखिएको छ ।

आज बजारमा २७६ स्क्रिप्टको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर ६९ हजार १६८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँमा समेटिएको छ । आइतबार ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको कारोबार भएकोमा १२ करोड ८५ लाख रुपैयाँले कारोबार रकम घटेको हो ।

आज कारोबारमा आएका २७६ मध्ये १०९ कम्पनीको सेयरमूल्य बढेको छ । १६० कम्पनीको घट्दा ७ कम्पनीको स्थीर रहेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २९ करोड ८२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका ९ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ । पौने ४ लाख कित्ता एफपीओ बजारमा गपिएसँगै युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फाइनान्समा उछाल, उपसमुहगत सूचक मिश्रित

सोमबार फाइनान्स समुहका सेयरमूल्य उच्च बढेपछि सो सूचकमा उछाल आएको छ । ५.२२ प्रतिशतले वृद्धि हुँदै फाइनान्स १८१२.६३ बिन्दुमा पुगेको हो । वित्तीय अवस्था कमजोर रहेका फाइनान्स कम्पनीहरुको सेयरमूल्य पनि कारोबारीहरुले उच्च दरमा बढाएका छन् ।

सोमबार कारोबारमा आएका १३ मध्ये ८ उपसमुहगत सूचकमा रातो पोतिँदा पाँच वटा वृद्धि भएको छ । विकास बैंक ३.४९ प्रतिशत, म्युचुअल फन्ड ३.२३, लगानी ३.०८ प्रतिशत र अन्य २.१७ प्रतिशतले बढेको छ । उता निर्जीवन बीमा सूचक सर्वाधिक २.४८ प्रतिशतले घट्दा जीवन बीमा १.६७ प्रतिशत र होटल तथा पर्यटनमुलक १.६१ प्रतिशतले घटेको छ । बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधनमुलक, लघुवित्त र ब्यापार पनि १ प्रतिशतभन्दा कमले घटेका छन् ।

आज ९ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढी बढ्यो

नेप्सेमा आएको वृद्धिले आज ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि हुँदै सर्किट लेबलमा बढेको छ । ६ कम्पनीको सेयरमूल्यमा त सर्किट नै लागेको छ । यसदिन सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्वीटी फन्ड, माउन्टेन इनर्जी नेपाल, बिपीडब्लू लघुवित्त, मेन्छियम हाइड्रोपावर, सिटि होटल लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।

उता मकर जितुमाया सुरु हाइड्रोपावर, सानिमा इक्वीटी फन्ड र लुम्बिनी विकास बैंकको ९ प्रतिशत बढीले सेयरमूल्य बढेको छ । गुहेश्वरी मर्चेन्ट, नेपाल फाइनान्स, सिद्धार्थ इक्वीटी फन्ड, मल्टिपपर्स फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ ।

शिवम सिमेन्टसको साढे २९ करोडको कारोबार

कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २९ करोड ८२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै नेपाल टेलिकमको १८ करोड १३ लाख ३४ हजार रुपैयाँ, सोल्टी होटलको १७ करोड ८९ लाख २५ हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७ करोड २० लाख ६९ हजार, र एचआईडिसीएलको संस्थापक सेयरको १२ करोड ८२ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै सोमबार नेपाल लाइफ, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, सुर्याज्याति लाइफ इन्स्योरेन्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८ करोडभन्दा बढीकोसेयर कारोबार हुँदै शीष दश कम्पनीभित्र समेटिएको छ । आज कारोबार संख्याका आधारमा शिवम् सिमेन्टको ३ हजार २९१ वटा संङ्ख्यामा खरिद बिक्री भएको छ । कारोबार कित्ताका आधारमा एचआईडिसीएलको संस्थापक ११ लाख ३५ हजार ७९८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

सोमबारको कारोबारपछि समग्र बजार पूँजीकरण ३० खर्ब ६१ अर्ब ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिन आइतबार ३० खर्ब ६३ अर्ब ३४ करोड ३९ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा २ अर्ब ३४ करोडले पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।