रेन्बो ट्रेड कन्सर्नको ९ महिनाको सञ्चालन आम्दानी साढे १ अर्ब

0
Shares

औषधी वितरक रेन्बो ट्रेड कन्सर्न प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ७८ करोड ४० लाख सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको औषत आम्दानीको तुलनामा चालु आवको सोही अवधिमा करिब ६ प्रतिशतले रेन्बो ट्रेड कन्सर्नको सञ्चालन आम्दानी बढोत्तरी भएको हो ।

चालु आवको ९ महिनाको सञ्चालन आम्दानीलाई आधार मानी गत वर्षको सञ्चालन आम्दानीसँग तुलना गर्दा कम्पनीको आम्दानी चालु आवमा बढ्ने देखिएको हो । कम्पनीका अन्य वित्तीय सूचांकहरुमा देखिएको सकरात्मक सुधारले पनि कम्पनीको वित्तीय अवस्था राम्रो रहेको जनाउँछ ।

सन् १९९३ मा स्थापना भएको रेन्बो टे«ड कन्सर्नले छारे, मधुमेह, उच्च रक्तचाप लगायतका रोगहरुको औषधी बिक्री वितरण गर्दै आएको छ । कम्पनी भारतको इन्टास फर्मास्यूटिकल्सले उत्पादन गर्ने औषधीहरुको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीका देशभर एक सय भन्दा धेरै होलसेल पसलहरु उपलब्ध छन् । जसकारण नेपालभर नै कम्पनीले बिक्री वितरण गर्ने औषधीहरुको पहुँच बढ्दै गएको छ ।

कम्पनीमा सुरेश कुमार अग्रवालको लगानी रहेको छ । नेपालको फर्मा क्षेत्रमा तीन दशक लामो अनुभव बटुलेका उनी कम्पनीका संस्थापक समेत रहेका छन् ।

कुल ७६ करोड ८७ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २ करोड ३७ लाख २० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स, फन्ड आधारित २९ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए–४ प्लस र गैर–फन्ड आधारित ४५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ प्लस रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।