एनएमबि बैंकले नेपालमा ल्यायो वी च्याट पे, चिनियाँ पर्यटकले नेपालमा सजिलै भुक्तानी गर्न सक्ने


एनएमबि बैंकसगँको साझेदारीमा छिमेकी राष्ट्र चीनको लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ ।

पोखराको लेकसाइडमा आयोजित एक कार्यक्रमका बिच वी च्याट पे नेपालमा सुरु भएको घोषणा गरिएको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थितिमा वी च्याट पे सेवाको औपचारिक घोषणा गरिएको हो ।

नेपालका लागि चीनका राजदुत श्री चेन सोङले वी च्याट पे क्यू आर कोड मार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने बताएका थिए । वी च्याट पेको सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा पनि राजदुत सोङले थप जानकारी दिएका थिए ।

नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याट मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकीङ्ग प्रणाली मार्फत सम्वन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने उनको भनाई थियो । यसले डिजिटल बैंकीङ्ग कारोवारलाई समेत प्रोत्साहन हुने विश्वास उनले व्यक्त गरे ।

यो साझेदारीले वी च्याट पेमार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।