मुलुकले कुल वस्तु निर्यातबाट प्राप्त गरेको रकम नेपालले उपयोग गर्ने डिजेल आयातमा नै ठिक्क भएको देखिएको छ । नेपालबाट भएको निर्यात र डिजेल आयात लगभग उत्तिकै मात्रामा छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालले जेठसम्ममा डिजेल मात्रै १ खर्ब ३७ अर्ब ६० करोड २६ लाख रुपैयाँको आयात भएको हो । यो रकम नेपालले विभिन्न देशहरुमा मात्रै निर्यात गरेको रकमभन्दा ६ अर्ब रुपैयाँ कम हो । जेठ मसान्तसम्ममा नेपालले १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस आधारमा हेर्दा नेपालले अन्य देशमा वस्तु बिक्री गरे वापत प्राप्त गर्ने सबै रकम नेपालले उपयोग गर्ने एउटा पेट्रोलियम पदार्थ डिजेल आयातका लागि मात्रै सकिने गरेको हो ।
डिजेल बाहेक पेट्रोल, एलपीजी ग्याँस र हवाई इन्धन पनि उत्तिकै आयात हुने गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ६१ अर्ब ३८ करोड ८८ लाख रुपैयाँ बराबरको पेट्रोल, ५४ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ बराबरको एलपीजी ग्याँस, १८ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ बराबरको हवाई इन्धन र १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ बराबरको मट्टीतेल आयात गरेको छ ।
साउनदेखि जेठसम्मको अवधिमा नेपालले कुल २ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थभित्रको आयात गरेको छ । कुल पेट्रोलियम पदार्थको आयातमा डिजेलको हिस्सा आधा बढी अर्थात ५०.३० प्रतिशत छ । यस्तै कुल पेट्रोलियम पदार्थभित्रको आयातको हिस्सा कुल वस्तु आयातमा १८.४७ प्रतिशत रहेको छ । नेपालले विभिन्न १६७ देशमा ९५० वटाभन्दा बढी वस्तु निर्यात गर्ने गरेपनि त्यसको परिणाम र मूल्य कम हुँदै आयातभन्दा निर्यातको हिस्सा ज्यादै न्यून रहँदै आएको हो । एघार महीनामा वस्तु विभिन्न देशहरुमा मात्रै निर्यात गरेको रकम डेढ खर्ब बराबर मात्र रहेको छ ।
First Eleven Months (Shrawan-Jestha) of FY 2079/80 Petroleum Product Imports Records | ||||
Description | Unit | Quantity | Imports-Value Rs. Thousands | Imports Revenue Rs. Thousands |
Diesel | KL | 1226298 | 137602677 | 48494371 |
Petrol | KL | 621127 | 61388844 | 33446990 |
LP Gas | Kg | 474057018 | 54329771 | 10132732 |
ATF | KL | 1244161 | 18935236 | 1363800 |
Kerosene | KL | 11444 | 1328496 | 149586 |
Total | 273,585,025 | 93,587,479 |
मुलक आत्मनिर्भर बन्न नसक्दा चालु आर्थिक वर्ष २०७९–८० को जेठ मसान्तसम्ममा नेपालले कूल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु नेपालले आयात गर्दा १३ खर्ब ३७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्म नेपालको वैदेशिक ब्यापार १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ छ । समग्र आयात १६.०१ प्रतिशत र निर्यात २२.७४ प्रतिशतले मुलुकको कूल व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १५.२१४ प्रतिशतले सुधारिएको हो ।
पेट्रोलियम पदार्थको आयात घटेसँगै सरकारी राजश्व पनि घट्यो
नेपालले खपत गर्ने पेट्रोलियम पदार्थको आयातमा खर्च हुने रकम ८ अर्बभन्दा धेरैले घटेको छ । आयात घटेसँगै सरकारले पप्त गर्ने राजश्वमा पनि पौने १२ अर्बभन्दा बढीले गिरावट आएको छ ।
नेपालले अघिल्लो आर्थिक वर्षको ११ महीनामा अवधिमा नेपालले पेट्रोलियम पदार्थ आयात २ खर्ब ८१ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ खर्च गरेको थियो । चालु आवको जेठ मसान्तसम्ममा २ खर्ब ७३ अर्ब ५८ करोड ५० लाख रुपैयाँ रुपैयाँको मात्र पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो आवको तुलनामा ८ अर्ब ३ करोड २४ लाख अर्थात २.८५ प्रतिशतले आयात घटेको हो ।
मूल्य मात्र होइन परिमाणका हिसाबले पनि आयात घटेको छ । चालु आवको साउनदेखि जेठसम्ममा कुल ३५ लाख ७७ हजार ८७ किलोलिटर पेट्रोलियम पर्दाथ आयात गरेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १६ लाख २५ हजार ५९० किलोलिटर कम हो । गत आवको ११ महीनामा ५२ लाख २ हजार ६७७ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो ।
आयाता घटेसँगै नेपालले पेट्रोलियम पदार्थबाट प्राप्त गर्ने राजश्व समेत गत जेठको तुलनामा ११ अर्ब ७८ करोड ८२ लाख अर्थात ११.१९ प्रतिशतले घटेको छ । चालु आवको जेठसम्म पेट्रोलियम पदार्थबाट सरकारले ९३ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । गत आवको सोही अवधिमा १ खर्ब ५ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ संकलन गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया