रिडी पावरको विशेष साधारण सभाबाट ५०% हकप्रद सेयर पारित


रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारण सभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ । शुक्रबार नयाँ बानेश्वको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामाको लागि १०० अंकित दरको १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ ।

विशेष साधारणसभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष संजिव न्यौपानेले सेयरधनीहरुको उच्च प्रतिफलका लागि आफूहरु लागि रहने बताए । त्यसै गरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको बारेमा सेयरधनीलाई प्रष्ट पारेका थिए ।

कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको लागि प्रमोटर सेयर समेत खुलाएको छ । इच्छुक लगानीकर्ताले केन्द्रिय कार्यालय ट्रेड टावार थापाथलीको पाँचौ तल्लमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हकप्रद सेयर पाएसँगै साधारणसभामा बोल्ने सेयरधनीहरुले बलेफी खोला जलविद्युत आयोजनाको लागि शुभकामना व्यक्त गरेका थिए ।

यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा बन्ने छ । जसमा कुमारी बैंकको अघुवाईमा ७५ प्रतिशत ऋण गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।