साताको सेयर बजारः नेप्से १३.४६ अंकले बढ्दा कस्तो रह्यो अवस्था ?

0
Shares

यो साता नेप्से १३.४६ अंक बढेको छ । नेप्सेमा एक सातामा ०.६६ प्रतिशतको बढोत्तरी भएको हो । नेप्से बढेसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण पनि २४ अर्ब २३ करोड ५६ लाख रुपैयाँले वृद्धि भएको छ ।

आइतबार २०४१.०७ बिन्दुमा खुलेको नेप्से पाँच कारोबार दिनमा २०५५.५३ बिन्दुमा बन्द भएको छ । आइतबार ५२.२६ अंकले बढेको सूचक साेमबारदेखि बुधबारसम्म क्रमशः २.९४, २६.५६ र १४.०५ अंकले करेक्सन आयो । अन्तिम दिन बिहीबार पुनः नेप्से ४.७५ अंकले उकालो लागेको थियाे । बजार बढेसँगै सेयर लगानीकर्ताको सम्पत्ति पनि यो साता २४ अर्ब २३  करोड ५६ लाख रुपैयाँ बढेको छ । अघिल्लो साता नेप्सेको कुल बजार पूँजीकरण २९ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ रहेकोमा बढेर ३० खर्ब १० अर्ब ४३ करोड रुपैयाँ माथि पुगेको हो ।

यस साता कारोबारमा आएका १३ वटै उपसमूहगत सूचकमध्ये ९ वटा बढेको छ भने ४ वटा घटेको छ । बैंकिङ्ग सर्वाधिक २.३८ प्रतिशतले घट्दा जलविद्युत २.५५, लघुवित्त १.९७ र म्युचुअल फन्डको इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेको छ । उता यो साता होटल तथा पर्यटनमुलक सर्वाधिक १७.८२ प्रतिशतले बढेको छ । गत साता ४७८४.३५ विन्दुमा रहेको होटल तथा पर्यटन उपसमूहको परिसूचक यो साता ८५२.३६ अंक बढेर ५६३६.७१ विन्दुमा पुगेको छ । यस्तै जीवन बीमा ५.१३, अन्य उपसमूहको ५.९८ प्रतिशत, लगानी ३.२७, ब्यापार २.७३, निर्जीवन बीमा २.४८, उत्पादन १.६९, फाइनान्स १.५५ विकास बैंक १.२७ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकम पनि ११ प्रतिशत बढेर ४ अर्ब १३ करोड २४ लाख ६९ हजार पुगेको छ । गत साता दैनिक औसत ३ अर्ब ७२ करोड ९६ लाख ३३ हजार रुपैयाँ थियो । यो साता २७५ कम्पनीको कुल ५ करोड २५ लाख २३ हजार कित्ता सेयर २० अर्ब ६६ करोड २० लाख रुपैयाँमा खरिद बिक्री भएको छ । गत साता २७४ कम्पनीको कुल ४ करोड ८२ लाख ४१ हजार कित्ता सेयर १८ अर्ब ६४ करोड ८१ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस साता नेप्सेमा ६ कम्पनीको बोनस सेयर र तीन कम्पनीको नयाँ सेयर सहित कुल ९ करोड ६१ लाख ३० हजार १९० दशमलव ५९ कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा ६ कम्पनीको ९५ लाख ४६ हजार कित्ता बोनस सूचीकृत, नयाँ तीन कम्पनीको सेयर पनि थपियो

कुन कम्पनीको सेयरधनीले कमाए, कुन कम्पनीको गुमाए त ?

यो साता सिटि होटलका सेयरधनीले सर्वाधिक ६०.८८ प्रतिशतले कमाएका छन् । होटलको सेयरमूल्य १०८.८० रुपैयाँ बढेर २८५.७० रुपैयाँ पुगेको छ ।

यस्तै बिपिडब्लु लघुवित्तको सेयरमूल्य ४४ प्रतिशत बढेर ८७७.८० रुपैयाँ, सोल्टी होटलको २६.१२ प्रतिशत बढेर ५१३.३० रुपैयाँ, ओरियन्टल होटलको १५.०८ प्रतिशत बढेर ७९७.५० रुपैयाँ पुग्दा नेपाल इन्स्योरेन्सको पनि १५.०२ प्रतिशतले बढेर ८०४ रुपैयाँ पुगेको छ । यस्तै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य १३.१६ प्रतिशत बढेर ७९२ रुपैयाँ, प्रभु लाइफ इन्सयोरेन्सको १२.६२ प्रतिशत बढेर ५८० रुपैयाँ, कालिञ्चोक दर्शनको ११.८० प्रतिशत बढेर १०२३ रुपैयाँ र प्रोगेशीभ फाइनान्सको १०.१६ प्रतिशत बढेर ३४३.७० रुपैयाँ पुगेको छ ।

उता यस साता अभियान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १५.६४ घटेर ६४१.१० रुपैयाँमा झरेको छ । त्यस्तै पाँचथर पावर कम्पनीको १४.९६ प्रतिशत घटेर ३०१.९० रूपैयाँ कायम हुँदा अपर हेवाखोलाको १२.३५ प्रतिशत घटेर ३४०.१०, भुगोल इनर्जीको १२.०९ प्रतिशत घटेर २६४, युनिक नेपालको ११.९६ प्रतिशत घटेर १२५९ र माउन्टेन हाइड्रो नेपालको १० प्रतिशत घटेर २६० रुपैयाँमा झरेको छ ।

कारोबार रकम, कित्ता र कारोबार संङ्या सबैमा शिवम् सिमेन्टस अगाडि

यो साता शिवम् सिमेन्टस कारोबार रकम, कित्ता र कारोबार संङ्ख्या तीन वटैमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको सो कम्पनीको १ अर्ब २३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको २२ लाख १५ हजार ५००कित्ता सेयर १२ हजार २८६ वटा संख्यामा खरिद बिक्री भएको हो ।

यसैगरी सोल्टी होटलको ९४ करोड ५० लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७२ करोड ८० लाख, हिमालयन डिष्टिलरी ७१ करोड ३९ लाख, नागरिक लगानी कोषको ५७ करोड ८३ लाख, नेपाल लाइफ ५७ करोड ४८ लाख र नेपाल टेलिकमको ५७ करोड ३० लाख रुपैयाँको सेयर कारोबारमा आएको छ । यस्तै सूर्याज्योति लाइफको ४५ करोड ८४ लाख, निफ्रा ४४ करोड ४२ लाख र अपर तामाकोशी ३० करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शीर्ष दश खरिद बिक्री गर्ने ब्रोकर कम्पनी

सबैभन्दा धेरै कारोबार गरेको ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीजले यो साता १ अर्ब ५० करोड २० लाखको सेयर खरिद गर्दा १ अर्ब ५० करोड ६९ लाखको बिक्री गरेको छ । यस्तै ३४ नम्बरको भिजन सेक्युरिटीजले १ अर्ब ५ करोड २८ लाखको सेयर खरिद गर्दा १ अर्ब १ करोड १ लाखको बिक्री गरेको छ । ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजले ९७ करोड २२ लाखको सेयर खरिद गर्दा १ अर्ब १६ करोड ७१ लाखको बिक्री गरेको छ । ९१ करोड ७३ लाखको सेयर खरिद गरेको ब्रोकर नम्बर ४९ अनलाईन सेक्युरिटीनले ७७ करोड ३६ लाखको बिक्री गरेको छ । यस्तै ८७ करोड २२ लाखको सेयर खरिद गरेको सनि सेक्युरिटीजले ७२ करोड ३६ लाखको सेयर बिक्री गरेको छ ।

यसैगरी ब्रोकर नम्बर ४४ डायनामिक मनि चेञ्जरले ८२ करोड ३६ लाखको सेयर खरिद गर्दा ८२ करोड ८८ लाखको बिक्री गरेको छ । ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले यो साता ६९ करोड ३५ लाखको सेयर खरिद गर्दा ६८ करोड ८० लाखको बिक्री गरेको छ । यसैगरी दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटीज (ब्रोकर नम्बर ३३) ५८ करोड ७१ लाखको सेयर खरिद गर्दा ५५ करोड १६ लाखको बिक्री गरेको छ । ब्रोकर नम्बर १७ एबिसी सेक्युरिटीजले ५८ करोड ४७ लाखको सेयर खरिद गर्दा ७६ करोड २३ लाखको बिक्री गरेको छ ।

यस्तै ५८ करोड ३० लाखको सेयर खरिद गर्दै दशौं ठूलो बनेको ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीज बिक्रीमा टप टेनभित्र छैन । उता नवौं ठूलो ५८ करोड ८९ लाखको सेयर बिक्री गरेको ब्रोकर नम्बर ५७ खरिदतर्फ टप टेनमा अटाएको छैन ।

शीर्ष दश खरिद बिक्री भएका कम्पनी

याे साता खरिदको शीर्ष दश कम्पनीभित्र शिवम् सिमेन्टस पहिलो रहँदा सोलटी होटल, हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ, नेपाल टेलिकम, निफ्रा, सूर्याज्योति लाइफ र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको अधिकतम ५६ करोड ५९ लाखदेखि न्यूनतम १५ करोड १८ लाखको बीचमा रहेको छ ।

बिक्रीतर्फ पनि शिवम् सिमेन्टस पहिलो स्थानमा नै रहँदा सोलटी होटल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल लाइफ, सूर्याज्योति लाइफ, नेपाल टेलिकम, शिवश्री हाइड्रोपावर कम्पनी र निफ्रा रहेका छन् । यी कम्पनीको अधिकतम ४९ करोड ५४ लाखदेखि न्यूनतम १८ करोड ५१ लाखको बीचमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।