अपि पावरले तोक्यो बुकक्लोज

0
Shares

अपि पावर कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्कासनका लागि सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तोकेको छ ।

कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २२ गते शुक्रबार बुकक्लोज मितिा तोक्ने निर्णय गरेको हो । बुकक्लोजको आधारमा असार २१ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

अपि पावरले असार ६ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीले हकप्रद निष्कासन गर्न २०७९ चैत ६ गते बोर्डमा निवेदन पेश गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । चालिस प्रतिशत हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रदबाट संकलित रकम ४० मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो चमेलिया जलविद्युत आयोजनामा खर्च हुनेछ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।