खराब कर्जा र सुस्त ब्याज आम्दानीका बीच कसरी बढ्यो वाणिज्य बैंकहरूको नाफा ?


काठमाडौँ । सामान्यतया बजारमा आर्थिक मन्दी आउँदा वा बैंकहरूले प्रवाह गरेको कर्जा उठ्न छाडेर खराब कर्जा बढ्दा बैंकहरूको नाफा घट्ने अनुमान गरिन्छ ।

तर, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (तीन महिना) मा भने नेपालका वाणिज्य बैंकहरूमा फरक वित्तीय दृश्य देखिएको छ । एकातिर ऋण नउठेर खराब कर्जाको प्रतिशत बढेको छ भने ब्याज अर्कातिर ब्याज आम्दानी सुस्त देखिएको छ ।

तर बैंकहरूको नाफामा भने उल्लेख्य सुधार आएको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षाअवधिमा वाणिज्य बैंकहरूको नाफामा ४५.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब ५८ करोड ८ लाख रुपैयाँ नाफा कमाएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा यो नाफा ६ अर्ब ५६ करोड ४६ लाख रुपैयाँले बढेर कुल १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

बैंकहरूको नाफामा उल्लेख्य सुधार आउँदा आम्दानीको मुख्य स्रोत मानिने ब्याज आम्दानीमा भने अपेक्षाकृति सुधार आएको छैन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी ४९ अर्ब १० करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो बढेर ४९ अर्ब ५७ करोड रुपैयाँ मात्र पुगेको छ । यसरी हेर्दा बैंकहरूको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानीमा केवल ४७ करोड रुपैयाँको मात्र वृद्धि भएको देखिन्छ ।

एकातिर बैंकको मुख्य आम्दानी (ब्याज) मा सोचेअनुसार सुधार आएको छैन भने अर्कातिर बैंकहरूले विगतमा गरेको कर्जा लगानी फिर्ता नहुने जोखिम अर्थात् खराब कर्जा झन् बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.८६ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५.६४ प्रतिशत पुगेको छ । यसरी एकातिर मुख्य आम्दानी ४७ करोड रुपैयाँले मात्र बढ्नु र अर्कातिर खराब कर्जाको दर बढेर ५.६४ प्रतिशत पुग्नुले बैंकहरूको वित्तीय अवस्था जोखिमपूर्ण बन्दै गएको संकेत गर्छ ।

तर अब प्रश्न उठ्छ कि यस्तो प्रतिकूल अवस्थाका बाबजुद पनि वाणिज्य बैंकहरूको नाफा एकै पटक ६ अर्ब रुपैयाँभन्दा बढीले कसरी बढ्न सम्भव भयो ?

बैंकिङ क्षेत्रका जानकार तथा सरोकारवालाहरूका अनुसार बैंकहरूको ब्याज लगानीमा आएको गिरावट र पुरानो खराब कर्जाको व्यवस्थापनमा आएका कमीका कारण नाफामा सुधार देखिएको हो । उनीहरूका अनुसार पछिल्लो समय बैंकहरूमा निक्षेपको (बचतको) ब्याजदर लगातार घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ५.४६ प्रतिशतसम्म रहेकोमा चालु आर्थिक वर्षमा घटेर ३.१५ प्रतिशत हाराहारीमा रहेको छ ।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूले सर्वसाधारण तथा संस्थागत बचतकर्ताहरूलाई दिनुपर्ने प्रतिफल वा ब्याज खर्चमा उल्लेख्य गिरावट आएको उनहिरूको भनाई छ । कर्जाको आम्दानी धेरै नबढे पनि बचतकर्तालाई दिने ब्याज खर्च घट्दा त्यसको सिधा सकारात्मक प्रभाव बैंकको खुद नाफा वृद्धिमा पर्न गएको हो ।

यसका साथै, नाफामा उल्लेख्य वृद्धि देखिनुको अर्को मुख्य कारण विगतमा डुबेको वा फसेको कर्जा असुली हुनु हो । बैंकहरूले विगतमा खराब कर्जाका लागि आफ्नो नाफाबाट निश्चित रकम जोखिम व्यवस्थापन (प्रोभिजनिङ) का रूपमा छुट्याएका हुन्छन् ।

गत आर्थिक वर्षमा बैंकहरूले २० अर्ब रपैयाँ प्रोभिजनिङ छुट्याएकोमा चालु आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ मात्रै छुट्याएका छन् । यसले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले पुराना रोकिएका कर्जाहरू असुल गर्न सफल भएको संकेत गर्दछ । विगतमा असुल हुन नसकेको कर्जा असुल भएपछि (अर्थात् राइट ब्याक हुँदा) पहिले छुट्याइएको रकम पुनः नाफामा गणना हुन्छ । जसले बैंकको कुल नाफालाई बढाउन मद्दत गर्यो ।

चालु आर्थिक वर्षमा कर्जा लगानी सुस्त हुँदा बैंकहरूको सम्पूर्ण ध्यान पुरानो कर्जा असुलीमा केन्द्रित भएकोले यो सफलता प्राप्त भएको बैंकरहरूको भनाई छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  ०६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।