औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु: विभाग


औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्र बिक्री वितरण गर्न अनुरोध गरेका छन् ।

“विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” उनले भने, “औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।”

महानिर्देशक दकालले औषधिको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।