धौलागिरी र खप्तड लघुवित्तले असार २० देखि एकीकृत कारोबार थाल्ने

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गाभ्ने गाभिने (मर्जर) प्रकृया पूरा भएको छ । दुई संस्था २०८० असार २० गतेदेखि ‘धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालन हुनेछन् ।

विसं २०७९ मंसिरमा १८ गते दुई संस्थाबीच गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएकोमा यहि असार २० गतेदेखि संयुक्त कारोबार सुरु हुने भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले असार ११ गते दुई लघुवित्त वित्तीय संस्था गाभिई संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा वित्तीय कारोबार गर्न अन्तिम स्वीकृति दिएसँगै संयुक्त कारोबारको मिति तय भएको हो ।

धौलागिरी लघुवित्तको र खप्तड लघुवित्त वित्तीय संस्था १ः०.७५ को सेयर स्वाप अनुपातमा मर्जर भएको हुन् । यी दुई लघुवित्त वित्तीय संस्था गाभिई संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले जेठ २४ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

विसं २०७९ पुस १७ गते नेपाल राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक सहमति दिएको थियो भने फागुन १८ गते खप्तड लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष इश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ भने खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरि लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।

धौलागिरी र खप्तड दुबै लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर जारी गरिसकेका छन् । धौलागिरीले ३ करोड ३१ लाख रुपैयाँ र खप्तड लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको थियो ।

एकीकृत कारोबारपछि संस्थाको जारी तथा चुक्ता पुँजी १३ करोड ३१ लाख र अधिकृत पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । यस्तै मर्जर पश्चात कायम हुने संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ्ग नगरपालिका वडा नम्बर २, बाग्लुङ्ग रहनेछ । लघुवित्तमा अध्यक्ष धौलागिरीको अध्यक्ष ईश्वरलाल राजभण्डारी नै रहनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।