बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित


बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ ।

संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिएका छन्। “बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको”, उनले भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ ।

ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट ४५ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ ।

बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणमा १३० मजदुर काम गर्दैआएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए । हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनार विद्युत्गृहसम्म ल्याउन दुई हजार ७१५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ । हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत तीन अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।