‘सरकारले आर्थिक वृद्धिको लक्ष्यमा हेरफेर गरेको छैन’ : अर्थमन्त्री

0
Shares

सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्यमा कुनै परिवर्तन नगरेको अर्थमन्त्री डा. यूवराज खतिवडाले बताएका छन् । यसभन्दा अघि सरकारले आर्थिक वृद्धिको लक्ष्य घटाएको भन्ने हल्लाको प्रतिउत्तरमा मन्त्री खतिवडाले आर्थिक वृद्धिको लक्ष्य संसोधन गरेको भन्ने भ्रममा नरहन आग्रह गरेका हुन् ।

बिहीबार विश्व बैङ्कले तयार गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ को सार्वजनिक कार्यक्रमका मन्त्री खतिवडाले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यमा कुनै संसोधन नगरेको बताएका हुन ।

नेपालको चालु खाता पनि तुलनात्मक रुपमा राम्रै अवस्थामा रहेकोले यसबारे पछिल्लो जानकारी प्रतिवेदनमा समेट्न बताउदै मन्त्री खतिवडाले भने,“सरकारले अहिले कुल गार्हस्थ्य उत्पादनका लागि आधार बर्ष मानेको सन् २०००/२००१ लाई परिवर्तन गरेर आव सन् २००९/१० पु¥याउने तयारी गरेको छ ।” नेपालमा अझै पनि पर्याप्त डेटाको अभाव रहेको उनको भनाइ छ ।

विकास प्रक्रियाका लागि डेटा अति महत्वपूर्ण हुने भएपनि नेपालमा अझै परम्परागत किसिमबाटै तथ्य सङ्कलन हुने गरेको उनको बुझाइ छ । डेटा सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘तथ्याङ्क सम्बन्धि ऐन’ निर्माणका लागि मन्त्रिपरिषदले स्विकृति दिएको र छिटै संसदमा दर्ता हुने उनले बताए ।

विश्व बैङ्कका नेपालका लागि देशीय निर्देशक फेरिस हदाद जेर्भोसले सरकारको समग्र कार्यक्षमता बढाउन पनि डेटाको प्रयोग जरुरी रहेको बताए । सङ्घीय संरचनाको प्रभाव मुल्याङ्कनका लागि नेपाललाई बिग डेटा आवश्यक पर्ने उनको सुझाव थियो ।

नेपाल डेभलपमेन्ट अपडेट सम्बन्धि प्रस्तुतिमा विश्व बैङ्क नेपालका वरिष्ठ अर्थशास्त्री केन एज्मेनारीले पछिल्लो समय आयात घट्दो र निर्यात बढ्दो प्रवृत्ति नेपालको व्यापारमा देखापरे पनि व्यापार घाटाको स्थितिमा खास परिवर्तन नभएको बताइन ।

बर्षमा दुई पटक सार्वजनिक गरिने यस्तो अपडेटको सन् २०१९ को डिसेम्बर संस्करणले यस बर्ष नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको उनले जानकारी दिइन । त्यस्तै सन् २०२०मा यस्तो वृद्धिदर ६.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको उनले बताइन ।