नागरिक लगानी कोषले पारित गर्यो २५ प्रतिशत बोनस


नागरिक लगानी कोषले सेयरधनीलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २५ प्रतिशत बोनस साधारण सभाबाट पारित गरेको छ । आइतबार सम्पन्न कोषको २८ औं वार्षिक साधारणभाले उल्लेखित बोनससँगै कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले संचालन गरिरहेको सरकारी, गैर सरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा राखेका थिए ।

कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, कोषमा आवद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधीकरण गरी प्रतिफल अभिबृद्धि गर्न सकिने अवसरहरुको बारेमा जोड दिएका थिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थिति बारे जानकारी दिएका थिए भने सेयरधनीहरुले उठाएका विषयहरु तथा सुझावहरुका सम्बन्धमा थप प्रष्ट पारेका थिए । कोषको कारोबारलाई क्रमश सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गरिनेमा पनि प्रमुख कार्यकारी अधिकृत नेपालले जोड दिए ।

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व १२ अर्व ६४ करोड ७३ लगानी गरेको छ ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ कोषले काम गरिरहेको छ । त्यस्ता नागरिकहरुको रकम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्ने तर्फ काम भईरहेको पनि नेपालले जानकारी दिए ।

सभामा बैंक तथा वित्तीय संस्थाहरुको समुहबाट सञ्चालक समितिमा तीन वर्षको लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।