एपोलो टायर्सको आधिकारिक बिक्रेता एरो इन्टरनेशनलको ३१% घट्यो आम्दानी

0
Shares

प्रख्यात टायर–एपोलो टायर्सको नेपालका लागि आधिकारिक बिक्रेता रहेको एरो इन्टरनेशनलको आम्दानीमा गिरावट आएको छ ।

गत आर्थिक वर्षमा कुल १ अर्ब ४० करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीले चालु आवको ९ महिनासम्ममा ७२ करोड ५० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीको गत वर्षको सञ्चालन आम्दानी र चालु आवको ९ महिनाको सञ्चालन आम्दानीलाई तुलना गर्दा चालु आवमा कम्पनीको आम्दानीमा ३१.२७ प्रतिशतको गिरावट आएको हो ।

कम्पनीको आम्दानीमा गिरावट आएता पनि अन्य वित्तीय सूचकांक भने बलियो देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा चालु आवमा कुल सञ्चालन आम्दानीको ७.९ प्रतिशत थियो भने चालु आवको ९ महिनामा नै कम्पनीको उक्त नाफा कुल सञ्चालन आम्दानीको ११ प्रतिशत पुगेको छ ।

सन् २०१० मा स्थापना भएको एरो इन्टरनेशनलले स्थापनाको समयदेखि नै एपोलो टायर्सको आधिकारिक बिक्रेता रहँदै आएको छ । कम्पनीमा राजेन्द्र कुमार काब्राको ८५ प्रतिशत सेयर हिस्सा र सन्दिप कुमार मोहताको १५ प्रतिशत सेयर हिस्सा रहेको छ ।

पछिल्लो समयमा नेपालमा एमआरएफ, सीइएटी, जेके लगायतका टायरहरुको बिक्री वितरण बढ्दै गएको छ । बजारमा बढ्दै गएको प्रतिस्पर्धाले पनि कम्पनीको आम्दानीमा असर पारेको देखिन्छ ।

कम्पनीले ८० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ३६ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ४४ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए-४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.४ गुणा रहेको छ । जुन गत आवमा २.३ गुणा थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।