लघु बीमा विस्तारका लागि घुम्ति बीमा सेवा

0
Shares

बीमा समितिले लघु बीमा विस्तार गर्ने उद्देश्य सहित बीमा कम्पनीहरुलाई घुम्ति बीमा सेवा प्रदान गर्ने बाटो खुलाईदिएको छ ।

घुम्ती बीमा सेवा सञ्चालन गर्दा लघुबीमालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै समितिले ‘शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६’ जारी गरेको हो।

मार्गदशन अनुसार बीमा कम्पनीले शाखा कार्यालयसँगको समन्वयमा बीमितको घरमा नै पुगेर बीमालेख विक्री गर्न सक्ने व्यवस्था छ । तर, घुम्ती बीमा कारोबारबाट संकलन भएको बीमाशुल्क सोही दिन वा सो दिनपछि बैंक खुलेकै दिनमा कम्पनीको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

मार्गदर्शनमा बीमा कम्पनीले घुम्ती बीमा सेवा सञ्चालन गर्न सञ्चालक समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । कम्पनीले आवश्यक पुर्वाधार तयार गरी काम गर्न सक्ने व्यवस्था रहेको छ । तर, बीमा कम्पनीले घुम्ती बीमाको व्यवस्थापन कर्मचारीवाट मात्रै गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीले घुम्ती बीमा सेवा सञ्चालनमा सहभागी कर्मचारीको भने दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था मार्गदशर्नले गरेको छ ।

जीवन बीमा कम्पनीले सावधिक र म्यादी जीवन बीमालेखलाई प्राथमिकता दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । घुम्ति बीमा मार्फत कम्पनीले ५ लाख रुपैयाँभन्दा बढीको बीमांकमा जीवन बीमा गराउन नपाउने व्यवस्था गरेको छ । घुम्ती बीमा सेवामार्फत वैदेशिक रोजगारी म्यादी जीवन बीमा भने गराउन पाइने छैन ।

त्यसैगरी निर्जीवन बीमा कम्पनीले घुम्ती बीमा सेवा अन्तर्गत कृषि, दुर्घटना र ५० लाखसम्मको घर बीमा गराउने सक्ने व्यवस्था मार्गदर्शनमा उल्लेख छ । निर्जिवन अन्तर्गत घुम्ति बीमामा हवाई, इन्जिनीयरिङ र मोटर बीमा गराउन भने रोक लगाएको छ ।

मार्गदर्शनअनुसार बीमा कम्पनीहरूले महानगरपालिका र उपमहानगरपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गर्न पाउँदैनन । तर, जीवन बीमा कम्पनीले त्यस्ता स्थानीय तहभित्र रहेका सीमा क्षेत्रका वडाहरूमा घुम्ती बीमा सेवा सञ्चालन गर्न सक्ने व्यवस्था समितिले गरेको छ ।