त्रिभुवन विमानस्थलबाट पास भएको सुनमा मेरो संलग्नता छैन: दिपक मल्होत्रा

0
Shares

व्यवसायी दिपक मल्होत्राले राजस्व अनुसन्धान विभागले बरामद गरेको सय किलो सुनको तस्करीमा आफ्नो संलग्नाता नरहेको स्पष्ट पारेका छन् । विभागले बरामद गरेको उक्त सुनको तस्करीमा मल्होत्राको पनि नाम जोडिएपछि उनले स्पष्टिकरण दिएका हुन ।

विभागले मंगलबार त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट वरामद गरेको थियो । सो सम्बन्धी समाचारमा मल्होत्राको नाम पनि जोडेपछि त्यसको खण्डन गरेका हुन ।

आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोवारहरु नेपाल कानून वमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको उनले बताए । आफूले गर्ने सवै कारोबारहरु संगठित संस्था मार्फत हुने भएकोले प्रचलित कानून वमोजिम व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण मार्फत सम्बद्ध सरकारी निकायमा पेश गर्ने भएकाले आफुले गर्न काम तथा कारोबारको जानकारी सरकारी निकायलाई पनि हुने उनको तर्क छ ।

“म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोबार गर्ने गरेको छैन,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “म र मेरो परिवारको कारोवार, आय सवै कानून बमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।”

विभागले बरामद गरेको सुन आयात गर्न आफूसम्बद्ध व्यापारिक प्रतिष्ठान एवं आफ्नो व्यक्तिगत सम्पत्तिबाट, कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य नभए उनको भनाइ छ । उक्त सुन आयातमा म, मेरो परिवार, म सम्बद्ध व्यापारिक प्रतिष्ठान र अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात नगरिएको उनले बताए । उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको समेत मल्होत्राले स्पष्ट पारेका छन् ।

उनले आफ्नो संलग्न नभएको कार्यमा नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार वा प्रकाशन गर्ने मिडियाले यसबारे माफी नमागे र खण्डन प्रकाशन नगरे कानुनी उपचारमा जान बाध्य हुने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।