सीपयुक्त शिक्षा र रोजगारी सिर्जना गर्न लर्डवुद्ध र नेपाल लाईफ इन्स्योरेन्सबीच सहमति

0
Shares

मुलुकभित्र व्यवसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्वोधन गर्न एवं व्यवसायिक शिक्षा उपलव्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने सहमति भएको हो । सहमतिपत्रमा फाउण्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गरेका छन् ।

फाउण्डेशनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रुपमा सहभागि हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरुले पढाईका साथै रोजागारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष पंकज जलानले बताए । यस्तै एमबीए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट ६ जना विद्यार्थीलाई फाउण्डेशनले निःशुल्क अध्ययन सुविधा उपलव्ध गराउने समेत सहमति भएको छ ।

इन्स्योरन्स कम्पनीले छनोट गर्ने ६ जना विद्यार्थीलाई शैक्षिक सत्रमा लाग्ने १० लाख २० हजार रुपैयाँ खर्च फाउण्डेशनले बेर्होने छ । नेपाल लाईफ कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुमध्ये ६ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पुर्ण खर्च फाउण्डेसनले बेहोर्नेगरी सहमति भएको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए। सो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने उनको भनाई छ ।

सूचना प्रविधिको विकास र प्रयोग बढेपनि सो अनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफुहरुले पहल गरेको अध्यक्ष जलानको भनाई छ । सरकारले पछिल्लो समय अंगिकार गरेको पढ्दै कमाउँदै नीतिको व्यवहारिक कार्यन्वयनका लागि फाउण्डेसनले पनि पहल गरीरहेको अध्यक्ष जलानले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।