ट्वीटरको नयाँ लोगो ‘एक्स’ ट्रेडमार्क चोरीको फन्दामा पर्न सक्ने

0
Shares

ट्वीटरको नयाँ लोगो ‘एक्स’ ट्रेडमार्क चोरीको फन्दामा पर्न सक्ने आँकलन गरिएको छ ।

ट्वीटरका मालिक एलन मक्सले ट्वीटरलाई रिब्रान्डिङ गर्दै ट्वीटर बर्ड हटाएर नयाँ लोगो एक्स सार्वजनिक गरेका छन् । जुलाई २४ मा रिब्रान्डिङ गर्दै मक्सले ट्वीटर डटकमबाट ट्वीटरको इन्टरफेस समेत परिवर्तन गरी एक्स डटकम बनाएका छन् ।

हाल अमेरिकामा मात्रै एक्स नामबाट ट्रेडमार्क दर्ता भएका ९०० बढी कम्पनीहरु उपलब्ध छन् । जसकारण ट्वीटरको लोगो एक्समा ट्रेडमार्कको मुद्दा लाग्ने सम्भावना एक सय प्रतिशत रहेको ट्रेडमार्क अधिवक्ता जोस गर्भनरले बताएका छन् ।

यसअघि फेसबूकको माउ कम्पनी मेटाले आफ्नो रिब्रान्डिङ गर्दा दुई कम्पनीले ट्रेडमार्कको विषय बनाई मुद्दा दर्ता गरेका थिए । इन्भेष्टमेन्ट कम्पनी मेटाक्यापिटल र भर्चुअल रियलिटी कम्पनी मेटाएक्सले मेटा विरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा हारेपछि मेटाले आफ्नो एम लोगो हटाएर इन्फीनीटि लोगो बनाएको थियो ।

ट्वीटरको नयाँ लोगो यस अघि सन् २०१९मा मेटाले सफ्टवेयर तथा सामाजिक सञ्जालका लागि दर्ता गरिसकेको छ । यस्तै माइक्रोसफ्टको एक्स बक्स भिडियो गेमिङको लोगो समेत एक्स रहेको छ ।

फिनटेक तथा इ–कमर्श कम्पनीहरुमा एक अक्षर भएको लोगोको ट्रेडमार्क जोगाउन निकै मुश्किल पर्ने गर्छ । जोस गर्भन भन्छन्, ‘मेटा वा माइक्रोसफ्ट कम्पनीले ट्रेडमार्क सम्बन्धी मुद्दा दर्ता नगरेता पनि अरु कम्पनीहरुले मुद्दा हाल्ने नै छन् ।’

यसअघि मक्सले ट्वीटरको लोगो ब्लु बर्ड हटाई डोगीकोइनको लोगोमा रहेको शिबाइनु कुकुरको तस्वीर लोगोका रुपमा राखेका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएको आलोचनासँगै मक्सले शिबाइनु कुकुरको लोगो हटाइ पुनः ब्लु बर्डलाई नै लोगोका रुपमा स्थापित गरेका थिए ।

मक्सले रिब्रान्डिङ गरी ट्वीटरको लोगो तथा इन्टरफेस परिवर्तन गर्दा मक्सले ट्रेडमार्क चोरीको फन्दामा पर्न सक्ने सम्भावना बढ्दै गएको छ भने नयाँ लोगो कति समयसम्म रहन्छ भन्नेमा नै प्रश्न उठेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।