पेट्रोलियम पदार्थको खपत घट्यो, गत आवमा २ करोड केजी ग्याँस र साढे २ लाख किलोलिटर कम इन्धन आयात

0
Shares

गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा पेट्रोलियम पदार्थको खपत २ लाख ४५ हजार किलोलिटरले घटेको छ । डिजेलको आयात करिब २० प्रतिशत, पेट्रोलको आयत सवा ८ प्रतिशत र ग्याँस ४ प्रतिशतले घटेकाे हाे । यद्यपी समीक्षा अवधिमा हवाई इन्धनको आयात भने १० प्रतिशतभन्दा बढीले बढेको छ ।

भन्सार विभाको तथ्याङ्क अनुसार अघिल्लो आवको तुलनामा गत आवमा डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टीतेलको समग्र आयात २ लाख ४५ हजार ४ किलोलिटरले घटेको हो । यस्तै समीक्षा अवधिमा खाना पकाउन प्रयोग हुने एलपीजी ग्याँस पनि २ करोड १७ लाख ६ हजार ८०० किलोग्राम कम आयात भएको छ ।

विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टीतेल गरी समग्रमा कुल ३८ लाख ३७ हजार २५ किलोलिटर आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ४० लाख ८० हजार २९ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन मात्र होइन गत आवमा खाना पकाउने ग्याँसको खपत समेत घटेको छ । विभागको तथ्याङ्क अनुसार गत आवमा ५१ करोड ४३ लाख ४० हजार ७६८ किलो ग्याँस आयात भएको विभागको तथ्याङ्क छ । अघिल्लो आवमा ५३ करोड ५८ लाख ६५ हजार ४१५ किलोग्राम ग्याँस आयात भएको थियो ।

यस्तै अन्य पेट्रोलियम पदार्थको आयात पनि १ लाख ३१ हजार ५३८ किलो घटेर २ लाख ५६ हजार ६१४ किलो मात्र आयात भएको हो । आयात घटेसँगै समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातमा हुने २१ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बचत भएको छ । पेट्रोलियम पदार्थको आयातमा सरकारले गत आवमा कुल ३ खर्ब ३९ करोड ४५ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा ३ खर्ब २२ अर्ब १० करोड १३ लाख १३ हजार रुपैयाँको आयातमा खर्च भएको थियो ।

गत आव २०७९/८० मा भएको इन्धन आयतको विवरण:-

FY 2079-80 (Import Value and Imports Revenue  in Rs. Thousands)
Description Unit Quantity Imports_Value Imports_Revenue
Diesel KL 1408494 153769980 55153149
Petrol KL 680807 66844808 36561143
Liquidified Petrolium Gas (LPG) Kg 514340768 58154114 10845996
ATF KL 1734720 20074336 1387621
Kerosene KL 13004 1467983 188876
Other petroleum Oil LTR 256614 83293 38666
Total 300394514 104175450

 

गत आव २०७८/७९ मा भएको इन्धन आयतको विवरण:-

FY 2078-79 (Import Value and Imports Revenue  in Rs. Thousands)
Description Unit Quantity Imports_Value Imports_Revenue
Diesel KL 1754933 168233268 64710071
Petrol KL 738536 71388288 39040645
Liquidified Petrolium Gas (LPG) Kg 535865415 65550977 12225473
ATF KL 1571280 15154939 768452
Kerosene KL 17280 1685551 207150
Other petroleum Oil LTR 388153 88290 41334
Total 322101313 116993125

 

किन घट्यो पेट्रोलियम पदार्थको आयात ?

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानका अनुसार अर्थतन्त्रमा आएको सुस्तता र देशभित्र विकास निर्माणका काममा मन्दी छाउँदा समग्र पेट्रोलियम पदार्थको आयात घट्न पुगेको हो ।

“औधोगिक उत्पादनमा कमी आएको कारणले पेट्रोलियम पदार्थको मात्रा घटेको हो । अर्को असर गर्ने ठाँउ भनेको विकास निर्माण पनि हो । विकास निर्माणमा पेट्रोलियम पदार्थको अलि बढी खपत हुन्छ । विकास निर्माण नै नभइपछि यसको आयात स्वतः घट्ने नै भयो ।” प्रधानले भने, “आयात घट्नुको अर्को कारण भनेको नेपाल भारतबीच रहेको खुल्ला सीमाना हो । यस्तै पर्यटकीय गतिविधिले पनि असर गरेको छ ।”

डिजेल ३ लाख ४६ हजार र पेट्रोल आयात ५७ हजार ७२९ किलोलिटर घट्यो

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा सबैभन्दा धेरै खपत हुने इन्धन डिजेलको आयात १४ अर्ब ४६ करोड ३२ लाख ८८ हजार रुपैयाँले घटेको छ । यस अवधिमा ३ लाख ४६ हजार ४३९ किलोलिटर कम डिजेल नेपाल भित्रिएको हो ।

आव २०७९/८० मा कुल १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ८ हजार ४९४ किलोलिटर डिजेल आयात भएको तथ्याङ्क छ । जबकी अघिल्लो आव २०७८/७९ मा कुल १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँ बराबरको १७ लाख ५४ हजार ९३३ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आवमा पेट्रोलको आयात पनि ५७ हजार ७२९ किलोलिटर घट्दा अघिल्लो आवको तुलनामा ४ अर्ब ५४ करोड ३४ लाख ८० हजार रुपैयाँ बचत भएको छ । विभागका अनुसार गत आवमा २०७९/८० मा कुल ६६ अर्ब ८४ करोड ४८ लाख ८ हजार रुपैयाँ बराबरको ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी अघिल्लो आव २०७८/७९ मा ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको ७ लाख ३८ हजार ५३६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यस्तै मट्टीतेलको आयातमा पनि कमी आएको छ । ट्टीतेलको आयात ४ हजार २७६ किलोलिटर अर्थात २५ प्रतिशतभन्दा बढीले घटेको हाे ।मट्टीतेलको आयातमा घट्दा २१ करोड ७५ लाख ६८ हजार रुपैयाँले आयात खर्च घटेको छ । गत आव २०७९/८० मा १ अर्ब ४६ करोड ७९ लाख ८३ हजार रुपैयाँ बराबरको १३ हजार ४ किलोलिटर मट्टीतेल आयात भएको छ । अघिल्लो आवमा १ अर्ब ६८ करोड ५५ लाख ५१ हजार रुपैयाँ बराबरको १७ हजार २८० किलोलिटर मट्टीतेल आयात भएको थियो ।

हवाई इन्धनको आयात बढ्याे, ४ अर्ब ९१ करोड अधिक खर्च

नेपाल आयल निगमका अनुसार समीक्षा अवधिमा हवाई इन्धनको आयात बढेको छ । अघिल्लो आवको तुलनामा हवाई इन्धन १ लाख ६६ हजार ७०९ किलोलिटर (१०.४० प्रतिशत) ले बढेको हाे ।  हवाई इन्धन आयात बढेपछि आयातमा हुने खर्च पनि ४ अर्ब ९१ करोड ९३ लाख ९७ हजार रुपैयाँले बढेको छ । 

गत आव २०७९/८० मा २० अर्ब ७ करोड ४३ लाख ३६ हजार रुपैयाँ बराबरको १७ लाख ६९ हजार ४१४ किलाेलिटर हवाई इन्धन आयात भएको छ । अघिल्लो आवमा १५ अर्ब १५ करोड ४९ लाख ३९ हजार रुपैयाँ बराबरको १६ लाख २ हजार ७०६ किलोलिटर हवाई इन्धन आयात भएको थियो ।

एलपी ग्याँसको आयात घट्दा साढे ७ अर्ब जोगियो

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउमा आएको गिरावट र खपत कम हुँदा अघिल्लो आवको तुलनामा गत आवमा एलपी ग्याँस आयातमा हुने ७ अर्ब ३९ करोड ६८ लाख ६३ हजार रुपैयाँ जोगिएको छ ।

गत आवमा एलपी ग्याँसको आयातमा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपैयाँ खर्च भएको छ । अघिल्लो आव २०७८/७९ मा ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको आयात भएको थियो । उक्त आवमा ५३ करोड ५८ लाख ६५ हजार ४१५ केजी एलपी ग्याँस आयात भएकोमा गत आवमा २ करोड १७ लाख केजी घटेर ५१ करोड ४३ लाख ४० हजार किलो मात्र आयात भएको हो ।

आयात घट्दा सरकारले प्राप्त गर्ने १३ अर्ब राजश्व गुम्यो, १०४ अर्ब संकलन

पेट्रोलियम पदार्थको आयात घटेसँगै सरकारले प्राप्त गर्ने राजश्व पनि १२ अर्ब ८१ करोड ७६ लाख ७५ हजार रुपैयाँले घटेको छ ।

गत आवमा सरकारले पेट्रोलियम पदार्थको आयात वापत १ खर्ब ४ अर्ब १७ करोड ५४ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो आवमा सरकारले १ खर्ब १६ अर्ब ९९ करोड ३१ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।