मधेश प्रदेशमा २६ करोड बढी राजस्व सङ्कलन 


मधेश प्रदेशअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया आर्थिक वर्ष २०७९/८० मा २६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । 
 
प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ करोड ८६ लाख ८६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार आव २०७८/७९ भन्दा गत वर्ष चार करोड ४२ लाख ५६ हजार रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको हो । 
 
सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहाले तीन करोड ८० लाख ४३ हजार रुपैयाँ र सबैभन्दा कम सर्लाहीले दुई करोड ४६ लाख ७० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले तीन करोड दुई लाख २३ हजार ५०० रुपैयाँ र बारास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले दुई करोड ७६ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
 
त्यस्तै पर्साले तीन करोड ४२ लाख ६५ हजार रुपैयाँ, रौतहटले तीन करोड एक लाख चार हजार रुपैयाँ, महोतरीले तीन करोड २३ लाख ६८ हजार ५०० रुपैयाँ, धनुषाले दुई करोड ५९ लाख ६७ हजार ५०० रुपैयाँ र सप्तरीले दुई करोड ५३ लाख ५६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।
 
प्रदेशका आठ जिल्लामा गत आवमा पाँच हजार ९८८ सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा ५५६ को मृत्यु भएको छ भने नौ हजार ६७० घाइते भएका कार्यालयले जनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले प्रदेशका सबै जिल्लामा विभिन्न समयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए । गत आवमा ६ हजार २७५ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख २३ हजार ५९१ सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत गराइएको प्रदेशका समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।