६१ अंकको सुधारपछि शेयर बजारमा करिब ५ अंकको करेक्सन, कारोबार घट्यो

0
Shares

लगातार आठ कारोबार दिन बढेको शेयर बजारमा नवौं दिनमा भने करेक्सन आएको छ । लगातार आठ कारोबार दिन बजार बढ्दा ६१ अंक माथि उक्लिएको थियो । नवौं दिनमा शेयर बजार करेक्सन आउँदा करिब ५ अंकले घटेको छ ।

बजारमा सामान्य करेक्सन आउँदा अघिल्लो कारोबारको तुलनामा कारोबार रकम घटेपनि ६८ करोड बढीको शेयर किनबेच भयो । सातको पहिलो दिन आइतबार नेप्से सूचक ४.७८ अंकले घटेर ११६७.८६ विन्दुमा झरेकोे छ । 

यसदिन १७२ कम्पनीको २० लाख ७२ हजार कित्ता शेयर ६८ करोड ६० लाख बराबरमा किनबेच भए । कारोबार रकम गत विहीबारको तुलनामा ८ करोड कम हो। गत विहीबार ७६ करोड ४० लाख बराबरको कारोबार भएको थियो ।

विहीबारको बजारमा वाणिज्य बैंक, व्यापार र अन्य समूहका बाहेक सबै समूहका सूचक नकारात्मक रहे । जीवन बीमा, होटल र लघुवित्त समूहको सूचकमा उच्च गिरावट देखिएको छ ।

यसदिन एनएमबि बैंकको सबैभन्दा धेरै ६ करोड ३७ लाख बराबरको शेयरको किनबेच भयो । नेपाल बैंकको साढे चार करोड बढीको शेयर कारोबार हुँदा स्वाबलम्वन लघुवित्त, एनआईसि एशिया तथा नेपाल लाइफ लगायतको उच्च कारोबार भएको छ ।

यसदिन राष्टिीय बीमा कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढेको छ । युनाइटेड इन्स्योरेन्स, युनाइटेड मोदी, सिन्धु विकास, युनियन हाइडो तथा आँखुखोला जलविद्युत लगायतको शेयर मूल्य पाँच प्रतिशत बढीले उकालो लागेको छ ।

सबैभन्दा धेरै स्पर्श लघुवित्तको शेयर मूल्य ६ प्रतिशत बढीले घटेको बजारमा गणपति माइक्रो, कालिका पावर, फस्र्ट माइक्रो तथा लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको शेयर मूल्य धेरै घटेको छ ।