प्रतिनिधि सभाको बैठक स्थगन, मङ्गलबार बस्ने

0
Shares

प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ । बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभए पनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना मार्फत जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यसैगरी, कानुन, नयाय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम ती आयोगको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणलाई लिएर नेकपा (एमाले) ले सदनमा विरोध जारी राखेको छ । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार र आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।