अर्थमन्त्रीले झुक्याए लगानीकर्ता : पूँजीगत लाभकर अन्तिम नहुने


काठमाडौँ । पूँजीगत लाभकर अन्तिम नहुने भएको छ । अर्थमन्त्री डा. स्मर्णीम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा पूँजीगत लाभकर अन्तिम हुने बताएपनि आर्थिक विधेयकमा अर्को व्यवस्था गरेका हुन् ।

शुक्रबार मन्त्री वाग्लेले बजेट वक्तव्यमार्फत पूँजीगत लाभकर अन्तिम भनेर घोषणा गरेका थिए । तर, आर्थिक विधेययकमा कुल ४० लाख भन्दा थोरै आम्दानीमा पूँजीगत लाभकर अन्तिम भनिएको छ । त्यसभन्दा धेरै आम्दानी भएको र आय विवरण पेस गर्नुपर्ने हकमा अन्तिम नहुने हुँदैन ।

बजेट भाषणको बुँदा ७(च) मा अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था मिलाएको छु ।’

तर, सेयर बजारबाट वार्षिक ४० लाखभन्दा थोरै आम्दानी गर्नेको हकमा मात्र यो व्यवस्थाले काम गर्ने छ ।

आर्थिक ऐन २०८३ ले सूचीकृत धितोपत्रको कारोबारमा लाग्ने पूँजीगत लाभकरमा वृद्धि गरेको छ । ३ सय ६५ दिनसम्म होल्ड गरी गरेको निसर्गबाट भएको नाफामा पहिले ७.५ प्रतिशत आयकर लाग्दै आएकोमा अब १० प्रतिशत र ३ सय ६५ दिनभन्दा बढी अवधि होल्ड गरी निसर्ग गरेर भएको आयमा पहिले ५ प्रतिशत आयकर लाग्दै आएकोमा अब ७.५ प्रतिशत आयकर लाग्ने भएको छ ।

विगतमा सेयर बजारबाट हुने आम्दानीमा कर अन्तिम रूपमा कट्टा भइसकेको भए धेरै व्यक्तिले आय विवरण पेश गर्नुपर्दैनथ्यो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  ०९ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।