अनलाइन कारोबारमा देखिएन लगानीकर्ताको रुची, अफलाइन कारोबारमै जोड

0
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनलाइन कारोबार प्रणाली लागू गरेको बर्षदिनमा जम्मा १६ हजार ५७३ लगानीकर्ता मात्र अनलाइनमा आवद्ध भएका छन् ।

अनलाइन प्रणालीमा आवद्ध भएकाले पनि अनलाइन भन्दा अफलाइन मार्फत नै कारोबार गर्ने गरेको पाइएको छ ।

नेप्सेमा अनुसार शेयर बजारमा हालसम्म १३ लाख ५८ हजार ७२७ लगानीकर्ता जोडिएका छन् । ति मध्ये १६ हजार ५७३ जना मात्र अनलाइन प्रणालीमा आवद्ध भएका छन्। अझै पनि १३ लाख ४२ हजार १५४ लगानीकर्ता अनलाइन प्रणालीमा आवद्ध हुन सकेका छैनन् ।

नेप्सका अनुसार ब्रोकर नं. ३४ भिजन सेक्यूरिटीजमा सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता रहेका छन् । जसमा एक हजार ५३३ अनलाइन प्रयोगकर्ता छन् । जबकि उक्त ब्रोकर मार्फत १८ हजार ७०१ लगानीकर्ताले शेयर कारोबार गर्ने गरेका छन् ।

यसपछि ब्रोकर नं. ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीजका कूल २१ हजार ५१५ लगानीकर्ताहरुमध्ये एक हजार ३९३ लगानीकर्ताहरुले अनलाईन प्रणाली प्रयोग गरिरहेका छन्। ५० ब्रोकर कम्पनीहरुमा यी दुई कम्पनीमा मात्र हजार भन्दा बढीको संख्यामा अनलाइन प्रयोगकर्ता रहेका छन् ।

सबैभन्दा कम अनलाइन प्रयोगकर्ता आशुतोष ब्रोकरेज एण्ड सेक्यूरिटीजमा रहेका छन् । उक्त कम्पनीबाट ४९ जना लगानीकर्ताले मात्र अनलाइन लिएका छन् । जबकि उक्त ब्रोकरमा कारोबार गर्ने लगानीकर्ताको संख्या ५७ हजार ८२८ छ ।