कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै १४ करोड रुपैयाँभन्दा बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९\८० मा यी दुई भन्सारबाट १४ करोड ४३ लाख तीन हजार चार सय ७० रुपैयाँ बराबरको बन्दागोभी निर्यात भएको हो ।
उनले पूर्वी नाका काँकरभिट्टाबाट सात करोड ४३ लाख तीन हजार चार सय ७० रुपैयाँ बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको जानकारी दिए ।
विराटनगर भन्सार हुँदै एक वर्षको अवधिमा छ करोड ५६ लाख ९२ हजार आठ सय रुपैयाँ बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको उनको भनाइ छ । कोशीका धनकुट्टा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ ।
अघिल्लो आवको नौ महिनामा मात्र पूर्वी नाका काँकरभिट्टाबाट १७ करोड रुपैयाँ बढीको बन्दागोभी निर्यात भएको थियो । जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको तथ्याङ्कले देखाउँछ ।
प्रतिक्रिया