नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही, ७ करोड राजस्व सङ्कलन

0
Shares

नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९/८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

विभागले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो । विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाएको बताउँछन् । “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,” महानिर्देशक मिश्रले भने ।

कारबाही गरेकामध्ये सबैभन्दा धेरै काठमाडौं कार्यालयले रहेको छ । काठमाडौं कार्यालयले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

सोही आवमा काठमाडौंमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाही परेका छन् । यस्तै, पोखरामा दुई हजार एक सय ८९, बुटवलमा एक हजार दुई सय ४४, नेपालगञ्जमा एक हजार चार सय ७९, सुर्खेतमा पाँच सय एक, धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।

यस्तै, सिलगढीमा दुई सय दुई, वीरगञ्जमा एक हजार चार सय ३६, जनकपुरमा सात सय २५, विराटनगरमा दुई हजार चार सय ६ र झापामा एक हजार तीन सय ३४ व्यापारी कारबाही परेको विभागले जनाएको छ ।

विभागका प्रवक्ता, ज्योति जोशी भट्ट गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताउछन। “जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ,” उनी भन्छन् । नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने ट्याक्सीको चेकजाँच गर्नेलगायतका कामबाट सात करोड १६ लाख ११ हजार ८५ राजस्व सङ्कलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।