नेपाल एसबिआई बैंकको ऋणपत्र बिक्री खुला, साउन २२ गतेसम्म आवेदन दिन सकिने


नेपाल एसबिआई बैंक लिमिटेडले आज साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असार २७ गते बैंकलाई प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता इकाई बिक्री गर्न अनुमति दिएको थियो ।

बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको २० लाख कित्तामध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । यस्तै ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ ।

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा आजदेखि २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा आवेदन नपरेमा भने निष्काशन अवधि ३२ गतेसम्म लम्बिने छ ।

सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वितिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।